काठमाडौं – भारतीय राज्य महाराष्ट्रको सोलापुरमा प्रेमिकाका श्रीमानलाई हत्या गर्न गएका प्रेमी नै तालमा डुबेर मृत्यु भएको घटना बाहिर आएको छ।
घटना फेब्रुअरी १८ मा भए पनि हालै मात्र यसको रहस्य खुलेको हो। बार्शी तालुकको महागाउँमा घटेको यस घटनामा रुपाली पटाडे र गणेश अनिल सपतबीच अवैध प्रेम सम्बन्ध थियो। जब रुपालीका श्रीमान् शंकर उत्तम पटाडेलाई यो सम्बन्धको जानकारी भयो, तब उनीहरूलाई असहज महसुस हुन थाल्यो। श्रीमान् बाधक बन्न थालेपछि रुपालीले प्रेमीसँग मिलेर उनलाई हटाउने योजना बुनेकी थिइन्।
फेब्रुअरी १८ को राति गणेश अनिलले शंकर उत्तमलाई रक्सी पिउन र रमाइलो गर्न भन्दै महागाउँ तालसम्म लगे। दुवैजना मदिराले मातिएका थिए र पुलमा नाच्दै गर्दा गणेश अनिलले शंकरलाई धकेलेर पानीमा खसाल्ने प्रयास गरे। तर, उनले सन्तुलन गुमाउँदा आफू पनि तालमा खसे। गहिरो पानी र मदिराको प्रभावले दुवैजना बाहिर निस्कन सकेनन् र घटनास्थलमै मृत्यु भयो।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले रुपाली पटाडेलाई पक्राउ गरी सोधपुछ गर्दा हत्या योजनाको पर्दाफास भएको हो। हाल प्रहरी रुपालीविरुद्ध कानुनी कारबाही अघि बढाइरहेको छ।