काठमाडौं – भारतको बिहार राज्यमा हुने आसन्न विधानसभा निर्वाचनअघि मतदाता सूचीबारे गम्भीर खुलासा भएको छ।
आयोगले आफ्नो सर्वेक्षणमा म्यानमार, बंगलादेश र नेपालका नागरिक पनि मतदाता सूचीमा भएको जनाएको छ ।
यी व्यक्तिहरूले आधार कार्ड, बसोबास प्रमाणपत्र र रासन कार्ड जस्ता सबै प्रकारका परिचयपत्र बनाएको पाइएको भारतको निर्वाचन आयोग स्रोतलाई उद्धृत गर्दै एनडीटिभीले खुलासा गरेको हो।
स्रोतका अनुसार अगस्ट १ देखि अगस्ट ३० सम्म त्यस्ता सबै व्यक्तिको छानबिन गरिनेछ। यदि अनुसन्धानमा यो सही पाएमा उनीहरूको नाम मतदाता सूचीमा समावेश गरिने छैन।
बिहारमा आयोगको यो विशेष गहन समीक्षाको मुद्दा केही दिनअघि सर्वोच्च अदालतमा पुगेको थियो। मुद्दाको सुनुवाइपछि अदालतले निर्वाचन आयोगलाई ठूलो राहत दिएको थियो। सर्वोच्चले बिहारमा मतदाता सूचीको सर्वेक्षणको काम जारी राख्न सक्ने स्पष्ट पारेको थियो। अदालतले यस विषयमा एक हप्ताभित्र निर्वाचन आयोगसँग जवाफ मागेको छ। यसको अर्को सुनुवाइ जुलाई २८ मा हुनेछ।
अदालतले बुधबार देशको प्रमुख राजनीतिक मुद्दा बनेको बिहार मतदाता सूची प्रमाणीकरण मुद्दाको सुनुवाइ गरेको थियो ।
बिहारमा निर्वाचन आयोगले सुरु गरेको विशेष गहन समीक्षाका कारणले मतदाता सूचीमा ठूलो विवाद उत्पन्न भएको छ।
यो प्रक्रिया जुन २४ मा सुरु भएको थियो, जसमा बिहारका करिब ८ करोड मतदाताको घर–घर गएर प्रमाणीकरण गरिनेछ। सबै मतदाताले गणना फारम भर्नुपर्ने र २००३ पछि दर्ता भएकाले नागरिकताको प्रमाण पेश गर्नुपर्ने नियम छ।
आयोगले यो प्रक्रियालाई सहरीकरण, आप्रवासन, नयाँ मतदाता थप, मृत्युको जानकारी नहुनु र विदेशी अवैध आप्रवासीको नाम समावेश भएको कारण आवश्यक ठानेको छ।