बुद्धशान्ति (पालिका सन्देश) । झापाको बुद्धशान्ति गाउँपालिकाका पर्यटकीय स्थलहरुमा नेपाली साहित्यका श्रष्टाहरुका रचनाहरु होडिङ बोर्ड मार्फत सार्वजनिक गर्दै विभिन्न स्थानहरुमा राखिएको छ । पछिल्लो समय नयाँ पुस्ताहरुमा बढ्दो प्रबिधिसँग रमाइरहेको भएता पनि नेपाली समाजका महान साहित्यिक श्रष्टा र तिनका अमूल्य कृतिहरू क्रमशः ओझेलमा पर्दै गइरहेको भन्दै बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा बुद्धशान्ति साहित्यिक तथा सांस्कृतिक प्रतिष्ठानको समन्वयमा विभिन्न आठवटा स्थानहरुमा होर्डिङ बोर्ड राखिएको छ ।
१६ जना महान साहित्यिक श्रष्टाहरूका चर्चित रचनालाई नयाँ पुस्तामाझ चिनाउने उद्देश्यसहित विशेष कार्यक्रम सुरु गरिएको हो । यसअन्तर्गत गाउँपालिकाका सातैवटा वडालाई समेट्दै विभिन्न सार्वजनिक, पर्यटकीय तथा ऐतिहासिक स्थलहरूमा ती साहित्यकारका महान रचनासहित तस्विरलाई चित्रमार्फत उतारेर फलामे बोर्डमा जडान गर्ने कार्य गरिएको पालिका सन्देशलाई जनाइएको छ ।
साहित्यलाई समाजसँग थप घुलमिल गराउने, नयाँ पुस्तालाई आफ्नै भाषा, साहित्य र सिर्जनासँग जोड्ने तथा सांस्कृतिक चेतना अभिबृद्धि गर्ने उद्देश्यले थालिएको यो प्रयासलाई स्थानीयवासी तथा साहित्यप्रेमीहरूले सकारात्मक रूपमा लिएका छन् । कार्यक्रममा सहभागीहरूले भाषा, साहित्य र सिर्जनालाई संरक्षण, प्रवद्र्धन र उचित स्थान दिनु पनि विकासको एक महत्वपूर्ण खुड्किलो हो भन्ने मान्यतालाई व्यबहारमा उतार्ने प्रयास भएको बताएका छन् ।


















