बुद्धशान्ति (पालिका सन्देश) । आजदेखि झापाको बुद्धशान्तिमा फुटबल प्रतियोगिता हुने भएको छ । एन्फा रेफ्री लोकराज ढुंगानाको स्मृतिमा स्थानीय आदर्श युवा क्लबले ‘लोकराज ढुंगाना स्मृति च्यालेञ्ज कप प्रतियोगिता २०८२’ आजबाट सुरु गर्ने भएको छ ।
प्रतियोगितामा झापाका सातवटा क्लव र इलामको एक गरी आठवटा टिमको सहभागीता रहने क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले बताएका छन् । उनका अनुसार आयोजक आदर्श युवा क्लब, धुर्वतारा स्पोटिङ क्लब, सतासी स्पोटिङ क्लब, शनिश्चरे फुटबल क्लब, न्यु स्टार फुटबल क्लब, धुलाबारी फुटबल क्लब, राजगढ फुटबल क्लब र इलामको जिर्मले फुटबल क्लबले सहभागीता जनाउने छन् । आज उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लब र राजगढ फुटबल क्लब बिच भिडन्त हुनेछ ।
स्थानीय बुद्ध आदर्श माविको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले नगद ७० हजार, उपविजेताले ४० हजार, ट्रफी र मेडल पाउने छन् । खेल सम्पन्न गर्न करिव ९ लाख रुपैया लाग्ने अनुमान गरिएको छ । त्यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याच हुने खेलाडीले समेत नगद पुरस्कार पाउने क्लबका उपाध्यक्ष दिपक सुब्बा थेवेले बताएका छन् । फाइनल खेलमा पाँचवटा शिर्षकमा विधागत पुरस्कार प्रदान गरिने उपाध्यक्ष थेवेले बताएका छन् ।
क्लबका सचिव दुर्योधन सिंह राजपुत (देव)का अनुसार खेल निःशुल्क हेर्न पाइने जनाउँदै खेल अवधिभर बुद्धशान्तिवासी सबैले खेलको अवलोकन गर्न अनुरोध समेत गरेका छन् । आदर्श युवा क्लबका पूर्व अध्यक्ष तथा कोशी प्रदेश फुटबल रेफ्रिसंघका सदस्य समेत रहेका ढुंगानाको गत बर्ष निधन भएको थियो । उनले बुद्धशान्ति तथा खेलकुद क्षेत्रलाई पूर्याएको योगदान अतुलनिय रहेको भन्दै उनको सम्झनामा क्लबले फुटबल प्रतियोगिता गरिएको हो ।