बुधबारे । बुद्धशान्ति गाउँपालिकामा हाल तिब्र रुपले भईरहेको अव्यवस्थित बसोवासी लाई जग्गा धनीपुर्जा उपलब्ध गराउन नापी कार्यले क्रमिक रुपमा परिणाम पनि दिन थालेको छ । गत असार ३१ गते बुद्धशान्ति वडा नः २ का २८ अव्यवस्थित घरपरिवार लाई धनीपुर्जा वितरण भएको थियो भने बिहिवार वडा नः २ कै १४ घरपरिवार लाई दोस्रो चरणमा जग्गा धनीपुर्जा वितरण गरिएको हो ।

बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय भुमि आयोग झापा जिल्ला अध्यक्ष तिलक सिंह पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पुर्व सामान्य प्रशासन मन्त्री तथा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य केशवकुमार बुढाथोकी ,पुर्व कृषि राज्य मन्त्री तथा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य सरिता प्रसाईं ,नेकपा एमाले प्रदेश १ कमिटी सचीव चिन्तन पाठक सहित विभिन्न पार्टीका अग्रज नेता, सामाजिक ब्याक्तित्व सहितको उपस्थितिमा धनीपुर्जा वितरण कार्यक्रम गाउँपालिका कार्यालयको सभा हलमा सम्पन्न भएको हो ।

बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाले स्वागत गरेको कार्यक्रमको संचालन भुमि आयोग सेवा केन्द्र बुद्धशान्तिका प्रमुख देबेन्द्र कटुवालले गरेका थिए । वडा नः४ को पनि धनीपुर्जा वितरणको अन्तिम चरणमा पुगेको छ भने हाल ४ सहित १,७ र ३ को पनि नापी कार्य जारी छ ।

भूमि आयोगले बुद्धशान्तिका ७ वटै वडामा करिव ५ हजार ४ सय घरको सुची तयार गरेको र आवश्यक अध्ययन गरी निस्सा र क्रमशः धनिपूर्जा वितरण गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष प्रसाईंको भनाई छ ।




















