बुद्धशान्ती । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सुव्यवस्थित र सफल रूपमा सम्पन्न भएको छ। बुधबारे र शान्तिनगर मिलेर बनेको यो भूगोल एउटै पालिकाभित्र परे पनि दुवै ठाउँ छुट्टाछुट्टै निर्वाचन क्षेत्रमा पर्ने हुँदा दुई अलग क्षेत्रबाट प्रतिनिधि छनोट हुन पाएको हो। शान्तिनगर झापा–१ क्षेत्रमा पर्दछ भने बुधबारे झापा–२ क्षेत्रमा अन्तर्गत पर्छ। यसले बुद्धशान्तीको राजनीतिक संरचना दुवै क्षेत्रमा सन्तुलित रूपमा विकसित भएको स्पष्ट संकेत दिन्छ।
यसपटक झापा–१ क्षेत्रबाट लक्ष्मी कुमार राई महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ भने झापा–२ बाट चिन्तन पाठक प्रतिनिधि बन्नुभएको छ। उनीहरू दुवैजना लामो राजनीतिक पृष्ठभूमि, संगठन विस्तारमा सक्रियता र जनप्रतिनिधित्वमा देखाएको निरन्तर प्रतिबद्धताका कारण बुद्धशान्ती गाउँपालिकाको आवाज मजबुत बनाउँदै आएका छन्।
चिन्तन पाठक
चिन्तन पाठक हाल केन्द्रिय सल्लाहकार परिषद्का सदस्य हुनुहुन्छ। वि.सं २०३८ सालमा अनेरास्ववियुसँग आवद्ध भएपछि श्री बुद्ध आदर्श मावि, बुधबारेबाट विद्यार्थी राजनीतिमा सक्रिय बनेका उहाँ क्याम्पस प्रारम्भिक कमिटी, इलाका, जिल्ला हुँदै संगठनको केन्द्रिय सचिवालय सदस्य तथा शिक्षा विभाग प्रमुखसम्म जिम्मेवारी सम्हाल्दै आएका अनुभवी नेता हुनुहुन्छ।

उहाँ पूर्व झापा जिल्ला अध्यक्ष रहनुभएको छ र पछि कोशी प्रदेशका सचिवका रूपमा पनि सफलतापूर्वक काम गर्नुभएको थियो। हाल उहाँ निर्वाचित प्रदेश सभा सदस्यका रूपमा प्रदेश नेतृत्वमा योगदान गरिरहनुभएको छ। संगठनप्रतिको अनुशासन, कार्यशैलीप्रतिको प्रतिबद्धता र जनस्तरमा रहेको लोकप्रियताले उहाँलाई प्रदेश राजनीति मध्येका प्रभावशाली नेतामा स्थापित गरेको छ।
लक्ष्मी कुमार राई
लक्ष्मी कुमार राई युवावस्थादेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै अघि बढ्नुभएको जिम्मेवार नेता हुनुहुन्छ। इलाका नेतृत्व, जिल्ला सचिवालय सदस्य र पछि प्रदेश सचिवालयसम्म उक्लिँदै उहाँको राजनीतिक यात्रा निरन्तर उँचाइमा पुगेको छ।

हाल प्रदेश सदस्यका साथै बुद्धशान्ती इन्चार्जको भूमिकामा सक्रिय रहनुभएका उनले संगठन विस्तार, जनसम्पर्क, र व्यवहारिक नेतृत्वले आफूलाई बुद्धशान्तीको विश्वसनीय प्रतिनिधिका रूपमा स्थापित गर्नुभएको छ। उहाँको दीर्घ राजनीतिक योगदान र स्थिर नेतृत्वले गाउँपालिकाको प्रतिनिधित्वलाई थप सबल बनाएको छ।
दुवै प्रतिनिधिको लामो अनुभव, संगठन निर्माणमा देखिने उनीहरूको दक्षता, र स्थानीय तहमा रहेको व्यापक जनसमर्थनलाई हेर्दा यसपटक बुद्धशान्ती गाउँपालिकाबाट नेकपा एमालेमा एक जना केन्द्रिय सदस्य पाउने सम्भावना अत्यन्तै बलियो देखिन्छ।
बुद्धशान्ती गाउँपालिकाको राजनीतिक सक्रियता, पार्टीप्रति देखिएको निरन्तर समर्पण र जनविश्वासले यस सहभागितालाई अझ प्रभावकारी बनाएको छ, र यो उपलब्धिले बुद्धशान्तीको राजनीतिक पहिचानलाई थप मजबुत बनाउने छ।



















