बुद्धशान्ति/ नेवा:खल बुधबारेको आयोजनामा आज झापा बुधबारेमा पनि लाखे नाच प्रदर्शन गरेको छ। नेवा: खल बुधबारेका अध्यक्ष जितबहादुर श्रेष्ठका अनुसार नागपन्चमीमा शुरु भएको लाखेनाच श्रीकृष्ण जन्माष्टमिमा बिसर्जन हुनेछ। बुधबारेको रामजानकी मन्दिरबाट शुरु भएको नाच आज सोहि मन्दिरमा बिसर्जन गरिएको समेत उनले जानकारी दिए।

काठमाडौ उपत्यकाबाट शुरु भएको यो पर्व यतिबेला नेवारी समुदायको बसोबास रहेको प्रायः क्षेत्रमा देखाउने प्रचलन बढेको छ। आजै बुद्धशान्ति २ स्थित जयपुर चोकमा पनि जयपुर नेवा:दे दभुले लाखेनाच प्रदर्शन गरेको छ।
लाखे नाचको ऐतिहासिकता

लाखे नेपाल अधिराज्यभर नचाइने एक मात्र सर्वप्रिय परम्परागत नाच हो। ढोलक झ्याम्टाको जिउनै थर्किने आवाजमा डरलाग्दा ठूला अनुहार र झ्याप्प परेको बाक्लो कपाल भएका रातो जामा र लुगा लगाएर घँगलाको अवाज निकाल्दै सहरबजारमा लाखेनाच देखा पर्दा जतिले आवाज सुनेका हुन्छन्, सबै त्यस ठाँउमा झुमिन पुग्छन्। को बालक, को वृद्धा, को युवा सबैको मन तान्न सक्ने नाच हो, लाखेनाच।

लाखेनाच मूलतः काठमाडौं उपत्यकामा नचाइने नाच हो। गोर्खाका राजा पृथ्वीनारायण शाहले तत्कालीन नेपाल (हालको काठमाडौं उपत्यका) मा आक्रमण गरी कब्जा गर्दा उपत्यकाका नेवारहरू उपत्यकाबाहिर पनि बस्न पुगे। जहाँ नेवार पुगे, त्यहाँ-त्यहाँ बस्ती विकास गरिदिए।

किनभने यिनीहरू उद्योगी र व्यवसायी जाति थिए। आफ्नो मूलथलो छाडेर बस्ती सर्दा उनीहरूले उपत्यकाको आफ्नो संस्कृतिलाई जोगाउन सकेनन्। काठमाडौंका संस्कृति प्रायः सबै गुठीबाट चलाएका हुन्छन्। गुठीबाट चल्ने प्रायः संस्कृति धार्मिक भावना र राज्यका शक्ति समेत जोडिएका हुन्छन्।

त्यसकारण यस्ता धार्मिक, तान्त्रिक र राज्यसित सम्बन्धित अधिकांश संस्कृति उपत्यका बाहिर पुगेन। लाखेनाच भने काठमाडौं उपत्यका बाहिरका नेवार बस्तीमा पनि नचाइन थाल्यो। यो नाच अन्य जाति र समुदायमा पनि उत्तिकै लोकप्रिय भयो।
काठमाडौंको मजिपातलाखे मात्र विधिवत नचाइने भएकाले यो नाच विशेष पर्व र विशेष क्षेत्रमा बाहेक अन्यस्थान र समयमा नचाइँदैन।
उपत्यका बाहिर नचाइने लाखे गुणिला लाखे हो। यो लाखे नाचका लागि कुनै धार्मिक विधि, शास्त्रगत कुरा चाहिँदैन। कुनै जाति विशेष पनि हुनुपर्छ भन्ने छैन। रमाउन चाहने जो पनि बाजाको तालमा नाच्न सकिन्छ। यसैले नेवार बाहेकका अन्य जातीय समुदाय पनि यस लाखेनाचमा सहभागी हुन्छन् र यो नाच नाच्छन्, रमाउँछन् । नेपालभरि सबै जातीय समुदायले रुचाउने र सहभागी हुने नाच नै लाखेनाच भएकोछ। यसका लागि कुनै गुठीको तालिम चाहिँदैन। ढोलक र झ्याम्टा बाजाको बोलीमा यस्तो शक्ति छ, सुन्नेलाई नै नाचु-नाचु पारिदिन्छ।


