मंगलबार बिहान बेपत्ता भएको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लामाजुरा नजिक दुर्घटना भएको छ। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बाटो हिड्ने बटुवाहरूले हेलिकोप्टर दुर्घटना भएको जानकारी आँफूहरूलाई दिएको बताए ।
‘दुर्घटना भएको स्थानमा उद्धारका लागि प्रहरी टोली परिचालन भइसकेको र सदरमुकामबाट घटनास्थलसम्म पुग्न करिब डेढ घण्टा लाग्छ’, उनले भने।सोलुखुम्बुदेखि काठमाडौं आउँदै गरेको विदेशी यात्रुसहितको 9N–AMV कलसाइन हेलिकोप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको थियो।
यता त्रिभुवन अन्तर्राट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले सेनाको हेलिकोप्टर पनि उद्धारका लागि परिचालन भइसकेको बताए। उक्त हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए।जसमा पाइलट नेपाली र अन्य यात्रु मेक्सिकन रहेका छन्।