काठमाडौ । सहिद स्मारक बी डिभिजन लिगको खेल तालिका सार्वजनिक गरिसकेको अवस्थामा सहभागिता जनाउने क्लबहरुले आफ्ना मागहरु पूरा नभए लिग खेल्न असमर्थ हुने बताएका छन् । क्लबहरुले एन्फासँग भएका केही सहमतिहरु तत्काल कार्यान्वयन नभए लिग खेल्न नसक्ने भन्दै माग सम्बोन्धन र कार्यान्वयन गर्न एन्फालाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा लिग खेल्ने १४ मध्ये १० क्लबहरुले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्ने क्लबहरुमा आरसिटी, मध्यपुर युथ एसोसिएसन, सरस्वती युवा क्लब, ब्रिगेड ब्वाइज क्लब, नयाँ बस्ती युवा क्लब, वीरगन्ज युनाइटेड, टुसाल युथ क्लब, श्री कुमारी क्लब, च्यासल युथ क्लब र ब्वाइज युनियन रहेका छन् ।
साथै क्लबहरुले उक्त माग तीनदिनभित्र सम्बोधन गर्नुपर्ने बताएका छन् । त्यसो हुन नसके आफुहरुले लिग खेल्न असमर्थ हुने र त्यसको जिम्मेवारी स्वयम् एन्फाले लिनुपर्ने समेत बताएका छन् ।
स्मरण रहोस, सहिद स्मारक बी डिभिजन लिग यही फागुन २५ गतेदेखि शुरु गर्ने गरि खेलतालीका सार्वजनिक गरिसकिएको छ ।
यस्ता छन् क्लबहरूको माग :
१। एन्फाले क्लबहरूलाई उपलब्ध गराउने सहमति भएको २ लाख रुपैयाँ लिग सुरु हुनुभन्दा अगावै दिनुपर्ने र २ लाख बराबरको केल्मी ब्राण्डको सामाग्री एन्फाले पाउने छुटमा उपलब्ध गराउने पर्ने ।
२। एन्फाले सार्वजनिक गरेको ‘बि’ डिभिजनको खेल तालिका तीन महिना छ जुन अघिल्लो पटकको भन्दा लगभग दोब्बर हो । यसले एकातिर क्लबको खर्च पनि एक तिहाई बढ्ने छ भने अर्कोतिर खेलाडीको पढाइ, परिक्षा, रोजगारीलगायत विभिन्न खालका समस्या उब्जाउने हुँदा यसमा असहमति पनि आइसकेको छ । त्यसैले हप्तामा दुई खेलका दरले ५० दिनमा लिग सक्नेगरी खेल तालिका मिलाउनु पर्ने ।
३। एन्फाले उपलब्ध गराएको ‘बी’ डिभिजन लीग फुटवल प्रतियोगिता नियमावलीको नियम २२ का ४ वटा बुँदामा यदि कुनै क्लब लिगमा सहभागी नभएमा कारवाही तथा जरिवाना समावेश गरिएकोमायदि एन्फाकोतर्फबाट लिग नभएमा वा रोकिएको खण्डमा क्लबको खर्च भएको रकम उपलब्ध गराइने छ भन्ने बुँदा थप गरी नियमावली संशोधन गर्नुपर्ने ।