- इन्द्र प्रसाद ओली
कुनै पनि देशको परिचय भूगोलले मात्र पूर्ण हुँदैन। हरेक देशको आ–आफ्नै संस्कृति, संस्कार, परम्परा र रितिथिति हुन्छन्। भूगोलभित्र बस्ने जातजाति र भाषाभाषीले अभ्यास गर्ने संस्कार तथा संस्कृतिको समष्टिगत रूप नै राज्य हो र ती परम्पराको निरन्तरता नै राष्ट्रियता हो।
संसारका प्राचीन देशहरूमध्येको एक, भाषाहरूको जननी संस्कृत र मानव उत्पत्तिको थलो मानिने हिमवतखण्ड (नेपाल) संस्कार, संस्कृति र सभ्यतामा अत्यन्त धनी छ। १२५ भन्दा बढी जातजाति र भाषाभाषीको बसोबास रहेको नेपाल ‘विविधतामा एकता’ को ज्वलन्त उदाहरण हो। यहाँका फरक–फरक समुदायका मौलिक पर्वहरूमा पनि सम्पूर्ण नेपालीले अपनत्व ग्रहण गर्ने विशिष्ट परम्परा छ। यही मेलोमा आज हामी मकर सङ्क्रान्ति अर्थात् माघे सङ्क्रान्ति पर्व मनाइरहेका छौँ।
ज्योतिषीय तथा धार्मिक महत्त्व
आज माघ महिनाको पहिलो दिन हो। ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो। सूर्यले सबै राशिलाई प्रभावित गरे पनि कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) को प्रवेशलाई धार्मिक दृष्टिले विशेष मानिन्छ।
आजदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जान्छ। हुन त पुस ७ गतेबाटै दिन लम्बिन र रात छोटिन सुरु हुन्छ, तथापि धर्मशास्त्रले माघ १ गतेलाई नै उत्तरायण आरम्भको रूपमा व्याख्या गरेको छ। महाभारतका अनुसार भीष्म पितामहले देहत्यागका लागि यही दिन रोजेको र भगीरथले गङ्गा नदीलाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएको प्रसङ्गले पनि यसको धार्मिक महत्त्वलाई पुष्टि गर्छ।
स्नान, दान र खानपान
माघे सङ्क्रान्तिलाई ‘माघी’ वा ‘मकर स्नान’ पर्वको रूपमा पनि चिनिन्छ। आजका दिन बिहानै सबेरै उठेर नजिकका नदी, तलाउ वा त्रिवेणीमा गएर स्नान गर्ने परम्परा छ। आज पूर्वको कन्काई नदीमा विशाल मेला लागेको छ भने देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट तथा भारतको प्रयाग र गङ्गासागर लगायतका क्षेत्रमा मकर स्नान गर्ने भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ।
भविष्य पुराण, विष्णु पुराण तथा धर्मसिन्धु जस्ता ग्रन्थहरूमा उल्लेख भएअनुसार, आजका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुन्छ। आफूले पनि ती परिकार खाएमा शरीर पोषिलो र निरोगी हुने विश्वास गरिन्छ। यो पर्वमा ‘मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने–भन्ने’ चलन छ। ब्राह्मण तथा पुरोहितहरू यजमानको घरमा गई पर्वको महिमा सुनाउने र यजमानले टीका लगाई सिदा दान गर्ने परम्परा नेपाली समाजमा विद्यमान छ।
वैज्ञानिक र स्वास्थ्यगत पक्ष
हाम्रा चाडपर्वहरूमा धार्मिक र सांस्कृतिक पक्ष मात्र नभएर वैज्ञानिक कारणहरू पनि लुकेका छन्। शिशिर ऋतुको चिसो मौसममा मनाइने यो पर्वमा खाइने परिकारहरू घिउ, चाकु, तिल र खिचडीले शरीरमा गर्मीको मात्रा बढाउँछ र शक्ति प्रदान गर्छ। मास हालेर पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्ति मिल्ने र छालासम्बन्धी रोग नाश हुने विश्वास गरिन्छ। वैज्ञानिक दृष्टिकोणले पनि जाडो याममा शरीरलाई तातो बनाइराख्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन यी खाद्यवस्तुहरू अत्यन्त लाभदायक मानिन्छन्।
विविधतामा एकता
नेपालको भौगोलिक र जातीय विविधताअनुसार एउटै पर्वलाई पनि फरक–फरक ढङ्गले मनाउने प्रचलन छ। तराईका थारु समुदायले यसलाई ‘माघी’ का रूपमा नयाँ वर्षको उमङ्गसहित मनाउँछन्। मगर समुदायमा यसलाई ‘माघ्या’ वा ‘सेर्ल्हेस’ का रूपमा धुमधामसँग मनाइन्छ।
काठमाडौँ उपत्यकाका नेवार समुदायले यस पर्वलाई ‘घ्यूचाकु सँल्हु’ भन्दछन्। उनीहरूले आजको दिन घर आगन लिपपोत गरी, चोखोनितो भएर तिल र चाकु मिसाएको लड्डु खाने र दान दिने गर्दछन्। भक्तपुरको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा हुने गर्दछ। त्यस्तै, उपत्यका नजिकैको पनौतीमा लिच्छविकालीन राजा मानदेवको पालादेखि चलिआएको मकर मेला लाग्ने गर्दछ। पहाडी भेगमा सङ्क्रान्ति आउनु एक–दुई दिन अघिदेखि नै वन तरुल र घर तरुल खनेर जम्मा गर्ने र सङ्क्रान्तिको दिन पकाएर खाने रमाइलो चलन छ।
माघे सङ्क्रान्ति धार्मिक आस्था, सामाजिक सद्भाव र वैज्ञानिक जीवनशैलीको त्रिवेणी हो। बाली भित्र्याउने खुसी, लामो दिनको स्वागत र सूर्यको उपासनाको यो पर्वले मानिसको सरसफाइ, खानपान र आपसी सम्बन्धलाई प्रगाढ बनाउँछ। धार्मिक रूपमा पाप मोचन र पुण्य प्राप्तिको विश्वास गरिए तापनि व्यावहारिक रूपमा यो पर्वले स्वस्थ जीवनशैली र सामाजिक एकताको सन्देश दिइरहेको छ।
सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा माघे सङ्क्रान्तिको हार्दिक मङ्गलमय शुभकामना।
(लेखक ओली, राष्ट्रिय हिन्दु एकता मञ्च नेपाल तथा चेतना नेपालका अध्यक्ष हुनुहुन्छ।)


















