नेपाल स्काउटको ७४औं स्थापना दिवसको अवसरमा बिर्तामोड नगरपालिका अन्तर्गत विर्ता यूथ स्काउट क्यू, विर्तामोडले एक विशेष सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ।

स्थानीय स्तरमा उल्लेखनीय सक्रियता जनाउँदै, विर्तामोड नगरपालिका वडा नं. ०४ स्थित लालिगुराँस टोलको तारा नमस्ते बाल ग्राममा रहेका नानीहरूसँग दीप प्रज्वलन तथा रात्री कालीन भोजन कार्यक्रम आयोजना गरियो। कार्यक्रममा स्काउटहरूले बालबालिकासँग आत्मीयता साटासाट गर्दै सेवा र समर्पणको भाव प्रस्तुत गरे।

कार्यक्रममा सहायक राष्ट्रिय प्रशिक्षक (Assistant National Trainer) तथा स्काउट लिडर नारायण श्रेष्ठको नेतृत्वमा टोलीले स्थापना दिवसलाई सामाजिक सेवाको माध्यमबाट मनाउनु पर्ने उदाहरणीय कार्य गरेका हुन्।


श्रेष्ठले भन्नुभयो, “स्काउटिङको मूल मर्म सेवा र अनुशासन हो। आजको दिन हामीले बालबालिकालाई स्नेह र माया बाँडेर मनाएका छौँ, यो नै हाम्रो स्काउट आन्दोलनको सार हो।”

नेपाल स्काउटको स्थापनाको ७४औं वर्षगाँठलाई स्थानीय समुदायसँग जोडेर मनाइएको यस प्रकारको गतिविधिले युवाहरूमा सामाजिक उत्तरदायित्वको चेतना बढाउने अपेक्षा गरिएको छ।