झापा, १ मंसीर । झापाको बिर्तामोडबाट प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिक आजबाट ३१ औं वर्षमा प्रवेश गरेको छ । पत्रिकाले अब डिजिटल रूपान्तरणको नयाँ यात्रामा अघि बढ्ने घोषणासहित सफल ३ दशकको यात्रा पूरा गरी नयाँ ऊर्जासहित ३१ वर्षमा प्रवेश गरेको हो ।
लेटर प्रेसको ढाँचाबाट सुरु भएको पूर्वाञ्चल दैनिक अहिले अत्याधुनिक अफसेट प्रविधिमा प्रकाशित हुन्छ । मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याएको पूर्वाञ्चल दैनिक प्रेस काउन्सिल नेपालबाट ‘क’ श्रेणी प्राप्त पत्रिका हो ।
बिर्तामोड–१ मा मुख्य कार्यालय रहेको पूर्वाञ्चल श्री अन्तु प्रकाशन प्रालिले प्रकाशन तथा वितरणको जिम्मेवारी सम्हाल्दै आएको छ ।
३१ वर्ष प्रवेशको अवसरमा संस्थाका अध्यक्ष टोरुप प्रसाई, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले पूर्वाञ्चल दैनिकलाई यो स्थानसम्म ल्याउन साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन् । पत्रिकाको विकासमा पाठक, विज्ञापनदाता र सम्पूर्ण सहकर्मीहरू आधार स्तम्भ भएको व्यवस्थापक चन्द्रकान्त ढकालको भनाई छ ।
३० वर्ष पूरा गरेर ३१ औं वर्षमा प्रवेश गर्दा पत्रिकाले ‘नयाँ पुस्ता, नयाँ प्रविधि र नयाँ युगको पत्रकारिता’लाई आत्मसात गर्दै जिम्मेवार र गुणस्तरीय समाचार उत्पादनमा अझ सुदृढ रूपमा अघि बढ्ने घोषणा गरेको छ ।



















