आजको नेपाली राजनीति हेर्दा लाग्छ, बोलिरहनु नै नेतृत्व हो र आक्रोश पोख्नु नै सक्रियता। सामाजिक सञ्जालदेखि संसद्सम्म, प्रतिक्रिया नआए नेता देखिँदैनन् भन्ने भ्रम फैलिएको छ। यही भीडमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने सधैँ अलग उभिन्छन्। सिङ्गो परिवारमाथि आघात आइपर्दा पनि, पार्टीभित्रै सत्ता सरिँदा पनि, उनको मौनता टुट्दैन। यही मौनता कतिपयका लागि रहस्य बनेको छ।
आफू सभापति हुँदाहुँदै अर्कै सभापति स्थापित हुँदा पनि देउवाबाट न कटाक्ष सुनियो, न सार्वजनिक गुनासो। अरू नेताहरूले यस्ता अवस्थामा आरोप–प्रत्यारोपको वर्षा गर्ने बेला उनी भने सामान्य शुभकामना सन्देशमै सीमित रहे। यो व्यवहार कमजोरी होइन, बरु राजनीतिक आत्मसंयमको उदाहरण हो भन्ने बुझाइ पनि उत्तिकै बलियो छ।
सत्ताको नजिक हुँदा होस् वा बाहिरिँदा, देउवाको स्वभाव उस्तै देखिन्छ। न सत्ता पाएर उन्माद, न सत्ता गुमाएर कुण्ठा। कसैलाई दोष थोपर्ने हतार छैन, कसैप्रति धारे हात लगाउने आवेग छैन। आज जब धेरै नेताहरू असफलताका लागि अरूलाई जिम्मेवार ठहर्याउन व्यस्त छन्, देउवाको यो शैली झन् अर्थपूर्ण देखिन्छ।
राजनीतिक प्रतिद्वन्द्वीहरूलाई नाम किटेर आक्रमण गर्नु उनको बानी होइन। ओलीसँग असहमति हुँदा पनि प्रचण्डसँग दूरी बढ्दा पनि उनले सार्वजनिक कटुता देखाएनन्। नयाँ राजनीतिक शक्तिहरू, लोकप्रिय पात्रहरू वा आन्दोलनरत नेताहरूप्रति पनि उनको टिप्पणी प्रायः मौनमै सीमित रह्यो। अन्तर्राष्ट्रिय मुद्दा र विदेशी हस्तक्षेपका बहसमा समेत उनी चर्को भाष्य दिन चाहँदैनन्। यसलाई बेवास्ता भन्न सकिन्छ, तर यसभित्र गणनायुक्त सावधानी पनि लुकेको छ।
नेपाली कांग्रेसजस्तो इतिहास बोकेको पार्टीलाई अनेक संकटबीच पनि मुख्य राजनीतिक धारमा राख्नु सजिलो काम होइन। देउवाको नेतृत्व नाराभन्दा प्रक्रियामा, भाषणभन्दा सहमतिमा र टकरावभन्दा सन्तुलनमा आधारित देखिन्छ। उनी तत्काल लोकप्रियता होइन, दीर्घकालीन स्थायित्व खोज्ने नेता हुन्।
आजको राजनीतिमा जहाँ हरेक नेता बोल्न दौडिरहेको छ, त्यहीँ नबोली टिकिरहन सक्नु पनि नेतृत्वकै एक रूप हो। शेरबहादुर देउवाको राजनीति चर्को आवाजमा होइन, धैर्य, मौनता र समयसँगै परिणाम देखाउने विश्वासमा आधारित छ। कहिलेकाहीँ सबैभन्दा बलियो प्रतिक्रिया भनेको प्रतिक्रिया नदिनु पनि हुन सक्छ। (नारायण गाउलेको फसबुक पोस्टबाट प्रेरित)




















