हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकामा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । मनहरी गाउँपालिका वडा नम्बर–३ को महेन्द्र ज्योति माध्यमिक बिद्यालयका शिक्षक दिनेश उप्रेती आफैँले अध्यापन गराउँदै आएको छात्रालाई यौन दुव्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।
शिक्षक उप्रेतीले यौन दुव्र्यवहार गरेको भन्दै छात्राले उजुरी दिएपछि मकवानपुर प्रहरीले पक्राउ गरेको थियो । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीका अनुसार असार १६ गते बालिकाले आफुमाथि यौन दुर्व्यवहार भयो भनी १३ वर्षीया बालिकाले विद्यालयका प्रधानाध्यापकलाई निवेदन दिएकी थिइन् । पीडित बालिकाले निवेदन दिएपछि विद्यालयमा छलफल भइ ईलाका प्रहरी कार्यालय लगिएको थियो । बालिका माथि भएको दुर्व्यवहारको घटनामा छलफल हुँदैन भनी जिल्ला प्रहरी कार्यालयमा पठाइएको कालाखेतीले जानकारी दिनुभयो । यस घटनालाई गम्भीर रुपमा लिई घटनाबारे विद्यालय व्यवस्थापन समिति, स्थानीय र जनप्रतिनिधि बिच छलफल समेत भइरहेको उहाँले बताउनुभयो ।
शिक्षकलाई हिरासतमा राखी दुर्व्यवहार घटनाबारे अनुसन्धान भइरहेको र अरु कुरा खुलाउन नसकिने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालले बताउनुभयो ।