काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ६ पृष्ठ लामो स्पष्टीकरण बुझाएका छन् ।
आज (बुधबार) मध्यान्हन मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा रविले उक्त स्पष्टीकरण बुझाएका हुन् । रविको स्पष्टीकरण अध्ययनपछि कार्यालयले आजै साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । यता चितवन–२ को उपनिर्वाचनका उम्मेदवार समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै युवराज पौडेल सफलले दिएको उजुरी स्वतः खारेज भएको छ ।
पौडेलले मंगलबार रविको उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । मनोनयन दर्ता भएर अन्तिम नामावली निकाल्नुअघि उम्मेदवारले मात्र आफ्ना प्रतिस्पर्धीविरूद्ध उजुरी गर्न पाउने निर्वाचन आयोग ऐनको व्यवस्थाका कारण पौडेलको उजुरी नलाग्ने भएको हो ।