बुटवल। सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुँदैछ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासमा तोकिएको साप्ताहिक पेसीअनुसार न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा उनीहरूको मुद्दा सुन्ने तयारी भएको छ। अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार यो मुद्दा आज एक नम्बर इजलासको क्रम संख्या ३ मा सूचीकृत छ।
यसअघि कात्तिक १३ गते तोकिएको पेसीमा जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो। त्यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले लामिछाने र जोशीको मुद्दा एउटै प्रकृतिको भएकाले दुवै मुद्दा संयुक्तरूपमा सुनुवाइ गर्न आदेश दिएको थियो।
लामिछानेले बिगोअनुसारको रकम बुझाएर थुनाबाहिरैबाट मुद्दा लड्न अनुमति दिनु पर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएका छन्। त्यसबारे निर्णय गर्न अदालतले जोशीको समेत फाइल माग गरेको थियो। यसअघि उच्च अदालत बुटवलले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश पनि गरेको थियो।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलन रकममध्ये आफ्नो हिस्साको बिगो रकम बुझाए पनि जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो। त्यसपछि उनले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।
साउन २६ गते जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेको निवेदन अस्वीकार गर्दै थुनामै राख्ने आदेश दिएको थियो।



















