काठमाडौं । काठमाडौं महानगरपालिकाले आज पूर्वराजाको स्वागतका क्रममा गरिएको प्रदर्शनले वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिबाना गरेको छ। महानगर प्रहरीले राप्रपा मुख्यालयलाई पत्र लेखी पार्टी कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरूले एयरपोर्ट, तिलगंगा, गौशालालगायतका सार्वजनिक स्थानका सडक, सडकपेटी, आईल्याण्ड, त्यहाँ रहेका बिरुवा तथा रेलिङ्गमा भौतिक क्षति पुर्याउनुका साथै जथाभावी फोहोर गरेको जनाएको छ।

निर्वाचन आयोग र काठमाडौं महानगरको प्रशासन विभागलाई जानकारी गराउँदै नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापामगरले हस्ताक्षर गरेको उक्त पत्रमा, फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, तथा काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरिबाना तोकिएको उल्लेख गरिएको छ।
यसअघि, गत मंसिर ७ गते दरबारमार्गमा नेकपा एमालेले आयोजना गरेको जागरण सभामा समेत फोहोर गरेको भन्दै महानगरले एमालेलाई जरिबाना तिराउने निर्णय गरेको थियो।