बुधबारे ।राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनीक बिदाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टि बुद्धशान्तिले आज बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सहित अध्यक्ष रमेश कुमार भुजेललाई एक ज्ञापन पत्र बुझाएको छ ।
नेपाल र नेपालीको निम्ती अत्यन्तै महत्वपूर्ण, नेपालीहरुलाई स्वाभिमानी, मर्यादित र गौरव गर्न लायक एक मात्र दिन पौष २७ गते मान्नु पर्ने बताउँदै टुक्रा टुक्रा राज्यलाई एक बनाएर बलियो र विश्वको मानचित्रमा स्वतन्त्र र अविभाज्य राज्य प्रष्ट रुपमा राख्ने महान् सपुत राष्ट्रिय एकताका प्रतिक पृथ्वी नारायण शाहको संझनामा सार्वजनीक बिदा दिनुपर्ने पार्टीका बुद्धशान्ति अध्यक्ष नारायण न्यौपानेले जानकारी दिए ।
पार्टीका निवर्तमान केन्द्रीय सदस्य प्रजापती कोइराला, जिल्ला सदस्य हेमप्रसाद भट्टराई, भूमिनाथ सापकोटा, धु्रव कोइराला, तुलसी राम विमली लगायत स्थानीय नेता कार्यकर्ताको उपस्थितीमा ज्ञापन पत्र बुझाइएको पार्टिका बुद्धशान्ति गाउँसमिति कोषाध्यक्ष केशव ओझाले जानकारी दिए ।
पार्टीले पौष २७ गते दिउँसो झापाको काँकरभिट्टामा बृहत कार्यक्रम गर्ने बताइएको छ । त्यस्तै सोही बेलुका बुधबारेमा पृथ्वीनारायण शाहको संझनामा दीप प्रज्वलन समेत गरिने पार्टिका बुद्धशान्ति गाउँसमिति वरिष्ठ उपाध्यक्ष गणेश कुमाईले जानकारी दिए ।