वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गम्भीर ध्यानाकर्षण जनाएको छ । सहकारी बचत अपचलनसम्बन्धी मुद्दाको बहसपछि काठमाडौं जिल्ला अदालत परिसरबाट निस्किँदै गर्दा अधिवक्ता त्रिपाठीमाथि बुधबार हातपात भएको हो ।
यस घटनालाई रास्वपाले कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास, र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलका लागि अस्वीकार्य भनेको छ ।
रास्वपाका प्रवक्ता (कार्यवाहक) मनिष झाले जारी गरेको विज्ञप्तिमा पार्टीको अनुशासन आयोगले यस घटनालाई गम्भीरतापूर्वक लिएको उल्लेख छ । यदि घटनामा पार्टीका कुनै सदस्यको संलग्नता भेटिएमा विधानअनुसार कारबाही गरिने स्पष्ट पारिएको छ ।
‘सो घटनामा यदि पार्टीको कुनै पनि सदस्यको संलग्नता भेटिएमा पार्टी विधानबमोजिम कारबाही हुने स्पष्ट पार्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।