झापा । आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा झापा जिल्लाबाट एक जना पनि समेटिएका छैनन्। जिल्लाबाट १४ जनाले उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गराए पनि अन्तिम सूचीमा कोही नअटाएका हुन्।
पार्टीभित्र सञ्चालित आन्तरिक मतदान (प्राइमरी इलेक्सन) मार्फत उम्मेदवार छनोट गर्ने प्रक्रियामा झापाका आकांक्षीहरू प्रतिस्पर्धात्मक मत ल्याउन असफल भएको बुझिएको छ।
यी थिए झापाका आकांक्षीहरू: झापाबाट समानुपातिकतर्फको टिकटका लागि विवेक तामाङ, शरद जोशी, शान्तिमाया न्यौपाने, सीता विश्वकर्मा, मनोज राजवंशी, भूपाल भण्डारी, भीम लम्जेल, रोहित न्यौपाने, गीताप्रसाद अधिकारी, लोकेशकुमार माझी, कुन्दन मुर्मु, अनिता नेपाली, नारायणप्रसाद दाहाल र विन्दु सिटौलाले दाबेदारी प्रस्तुत गरेका थिए।
पार्टी स्रोतका अनुसार, क्लस्टरगत सन्तुलन र प्राइमरी भोटिङको नतिजाका आधारमा केन्द्रले अन्तिम सूची तयार पार्दा झापाका कुनै पनि उम्मेदवार उच्च प्राथमिकतामा पर्न नसकेका हुन्। यसले जिल्ला तहका कार्यकर्तामा केही निराशा छाए पनि पार्टीको आन्तरिक लोकतन्त्रको अभ्यासलाई भने धेरैले स्वागत गरेका छन्।



















