काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज दिउँसो १ बजेदेखि ४ बजेसम्म भैरहवामा हुँदैछ ।
भैरहवाको होटल रमादामा बैठक बस्न लागेको हो । बैठकका लागि कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल, उपसभापति डा.स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झालगायत अधिकांश सांसद हिजै साँझ भैरहवा पुगेका थिए भने अन्य सांसदहरू आज बिहान पुगेका छन् ।
बैठकअघि मंगलबार बिहान नेताहरूले कारागारमा रहेका रवि लामिछानेलाई सामूहिक रूपमा भेट्ने प्रयास गरेका थिए । तर, प्रशासनले अनुमति नदिएपछि कार्यवाहक सभापति अर्याल र सांसद सोविता गौतमले छुट्टाछुट्टै रूपमा लामिछानेसँग भेट गरेका हुन । भेटमा दलको नेतृत्व, रुपन्देही(३ को उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ । रास्वपाको संसदीय दल हाल नेतृत्वविहीन अवस्थामा छ । सांसद पद निलम्बनमा परेका लामिछानेको स्थानमा कार्यवाहक नेता तोकिएको छैन । यद्यपि, उपनेता विराजभक्त श्रेष्ठले संयोजनको जिम्मेवारी लिइरहेका छन् । दलको नेताबारे बैठकमा औपचारिक एजेन्डा नरहेको जनाइएको छ ।
दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, भिजिट भिसा प्रकरण, संसद्मा सरकारको रवैया, विधेयकहरूमाथि पार्टीको धारणा र भ्रष्टाचारका मुद्दामा समीक्षा हुनेछ । बैठकपछि सांसदहरू हस्ताक्षर अभियानमा सहभागी हुनेछन् । पार्टीले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया पनि अघि बढाइसकेको छ । इच्छुकबाट साउन २१ गतेसम्म आवेदन माग गरिएको छ ।