(लघुकथा) शिष्ट सम्बन्ध सरण राई तिनको मिठो बोलीबचन, शिष्ट व्यवहार र सुमधुर आचरणले तिनलाई चिन्नेहरू सबै प्रभावित भएका छन् ।
सबैले प्रसंशा गर्छन् आधुनिक जुग जमाना पतिको प्रगतिमा पत्नीको ठुलो भूमिका हुन्छ नै । राजनीतिको सून्य स्थितिबाट सुरु गरेर आज तिनका पति संसद भएका छन् । संसदको चुनावमा पतिलाई जिताउन पनि तिनको उल्लेख्य भूमिका थियो ,चुनावको बेला मकहाँ पनि आएर तिनले भनेकी थिइन् ,” चुनाव हार्दाहार्दा दिक्क भइसकियो । यसपालिको चुनावमा जिताउन मदत गर्छौ कि !” “हुन्छ | हाम्रो नातासम्बन्ध पनि छ | म उहाँको बिरोध नगरी मदत गरौलाँ ।
” आश्वासन मात्र होइन त्यसै अनुरुप मैले भूमिका निर्वाह गरेँ ।तिनका पतिले चुनाव जितेर सांसद भए । सधैं राजधानी बस्न थाले । तिनीहरुसित तीन वर्ष भेट भएन । फोन गर्दा पनि सम्बन्ध हुन सकेन । टेलिफोन, इन्टरनेटका निशुल्क इमो, भाइबर आदि अनेकौ संचारले जेलिएको आधुनिक युग , उनीहरुले एकपटक पनि मलाई सम्झेनन् । उनीहरुले म अकिन्चन जाबोलाई के सम्झन्थे ? उनीहरुले यसो सोधखोज गरेर टेलिफोनमै हालचाल सोधेको भए उनीहरुको के बिग्रन्थ्यो र ? आफ्नो मानो खाएर बस्नु छ , मैले पनि शिष्ट सम्बन्ध राख्न छाडेँ । यहाँ नयाँ शिष्ट सम्बन्ध विकास हुँदैछ , आफूभन्दा ठुला शक्तिशालीको चाकडी गर्ने |
आफूभन्दा तलका सानाहरुलाई मान्छे नै नगन्ने । हो पनि सानाहरुसित सम्बन्ध राखेर के काम ? चुनावमा भोट किन्न पाई हालिन्छ | गरिब र भीखमङ्गाहरु जति धेरै, उति फोहोरी राजनीति फस्टाउँछ | फोहोरी राजनीतिका फोहोरीहरुबाट राम्रो आश गर्नु ढुङ्गा टुसाउँछ भन्नु जस्तै हो , सानाहरुलाई नगन्ने शिष्ट सम्बन्धले ठुलाहरू गिर्दा उठाउने कोहि हुँदैन । संकटमा साथ दिने ठुला भन्दा सानाहरू नै धेरै हुन्छन् । सानाहरूले नै दुनिया भरिएको छ देश ,समाज र व्यवहार सानाहरुले नै चलाएका छन् ।
सानाहरू बीच शिष्ट सम्बन्ध को कुनै अर्थ छैन रहदैन | म सानाहरू बीच सर्वसाधारण भएर रमाउन बाँच्न सक्नु जीवनकै महत्वपूर्ण उपलब्धि मान्छु | ठुला तिनीहरुले सम्बन्ध नराख्दा मलाई कुनै गुनासो छैन हुँदैन । लेखक शरण राइ