मंगेस आचार्य/नारायण प्रसाद रिजाल
बुद्धशान्ति । “बालअधिकारको कुरा, सबै मिलि गरौं पूरा” भन्ने नाराका साथ आज विश्व बाल दिवस मनाईंदैछ । बालअधिकारका बिषयमा कुरा चलिरहँदा बुद्धशान्तिमा भने बालबालिकासँग जोडिएका अपराधका घटना बाहिर आएका छन् ।
पछिल्लो १ बर्षमा मात्रै बुद्धशान्तिमा लागुपदार्थ सेवन गर्ने २० जना बालबालिकालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी अभिभावकको जिम्मा लगाएको छ । इलाका प्रहरी कार्यालय बुधबारेले बिभिन्न स्थानबाट लागुपदार्थ सेवन गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुलाई आवश्यक परामर्श दिई सचेत गराउँदै अभिभावकको जिम्मा लगाएको हो ।
इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज निराजन कटुवालका अनुसार साथीभाईको सङ्गत र प्रबिधिको बढ्दो प्रयोगले बालबालिकाहरु अपराधिक क्रियाकलापमा संलग्न हुने गरेको बताए । उनका अनुसार लागुपदार्थ सेवन मात्रै नभै बालबालिकाहरु चोरीका घटनामा पनि अगाडि आएका छन् ।
उनका अनुसार १ बर्षमा बुद्धशान्ति भित्र ८ वटा चोरीका घटनामा बालबालिकाहरु सकृय भएका छन्। “अनलाइन कक्षामा सहभागी हुन मोबाइल फोन चाहिने नै भयो, अभिभावकले निगरानी नगर्दा त्यही बिचमा प्राय बालबालिकाले फोनको दुरुपयोग गरेका छन्” उनले भने ।
म्यासेन्जर,अनलाइन गेम लगायत अरु सामाजिक संजालको बढ्दो प्रयोगले बालबालिकाहरुको ध्यान अन्यत्र मोडिएको पाइन्छ । बिद्यालय र अभिभावकले आवश्यक निगरानी नराखे यो समस्या अझ जटिल बन्ने निश्चित प्राय छ ।
बुद्ध–आदर्श मावि बुधबारेका प्रधानाध्यापक कृष्णराज भण्डारीले बिद्यालयले यस्ता घटना निस्तेज पार्न मासिक रुपमा सचेतना कार्यक्रम संचालन गरेतापनि बिद्यालय बाहिरका गतिविधिमा अभिभावकको भुमिका कमजोर भएको बताए ।
उनले भने,“मासिक रुपमा हामीले प्रहरी र स्थानीय निकायसंग समन्वय गरि सचेतना कार्यक्रम गरिरहेका छौं,तर बजारी क्षेत्रमा हुने गतिविधिमा हाम्रो नियन्त्रण हुँदैन, अभिभावकले चासो नदिएसम्म यस्ता घटना बढ्ने नै देखिन्छ।”
2 Responses
दुखद ! अभिभावकले बिशेष सतर्कता अपनाउन जरुरी छ !
यो सारै राम्रो प्रयास भेैरहेकोमा अभिभावक को प्रतक्ष निगरानि र समाजको पनि दायित्व हुन्छ। समाजको अगाडि उभियाएर माफि पनि मगाउन सकिन्छ।