देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड बराबर छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड थियो ।
अघिल्लो आवको तुलनाका चालु आवको चार महिनामा रु १० अर्बभन्दा बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको हो । समीक्षा अवधिमा सेवा खाता अन्तरगत भ्रमण व्यय १६ दशमलव चार प्रतिशतले वृद्धि भई रु ६४ अर्ब ५९ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ५५ अर्ब ४९ करोड थियो । सेवा खाता अन्तरगत समीक्षा अवधिमा भ्रमण आय आठ दशमलव एक प्रतिशतले वृद्धि भई रु १९ अर्ब १९ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १७ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा खुद सेवा आय रु ३२ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु २३ अर्ब एक करोडले घाटामा थियो ।



















