विराटनगर। विराटनगर महानगरपालिका–३ मा बुधबार दिउँसो टिपरको ठक्करबाट स्कुटरमा सवार एक पुरुषको ज्यान गएको छ ।
पञ्चेश्वर मन्दिरअगाडि भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ क ९५३ नम्बरको टिपरले उत्तरतर्फ नै गइरहेको प्र १–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई दिउँसो करिब २ः३० बजे ठक्कर दिएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए ।
ठक्करबाट स्कुटरको पछाडि सवार मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ निवासी अन्दाजी ४८ वर्षीय सुशील बजगाईं गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।
दुर्घटनामा स्कुटर चालक उनका छोरा २० वर्षीय प्रितम बजगाईं भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
टिपर र चालक मोरङको कानेपोखरी गाउँपालिका–३ निवासी ३३ वर्षीय कूलदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।