काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले माओवादी सशस्त्र द्वन्द्वकालका भएको चितवनको बाँदरमुडे घटना सम्झाएका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले निहत्था व्यक्तिको हत्या भएको घटनाको जिम्मेवारी लिन तयार हो ? भन्दै उनले माओवादीसँग प्रश्न गरे ।
शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर सदनमा प्रश्न गरेका हुन् । शुक्रबार प्रचण्डले सिन्धुपाल्चोकमा पूर्वराजा ज्ञानेन्द्रलाई भाइमारा र मूर्तिचोरको आरोप लगाएका थिए ।
‘बाँदरमुडे घटना याद छ ? निहत्थालाई बम हानेर मारेको हो होइन ? लम्जुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्यारा यहीँ सांसद छन् । यसको जवाफ चाहिन्छ कि चाहिँदैन ?’, शाहीले प्रश्न गरे, ‘खुल्लामञ्चमा उभिएर ५ हजार मान्छे मैले मारेको हुँ भन्ने मान्छे प्रधानमन्त्री बन्न पाउने व्यवस्था सही हो ?’
केन्द्र र प्रदेश सरकारका कारण आमजनतामा निराशा बढेको दाबीसहित सांसद शाहीले आफूहरू राजासहितको प्रजातन्त्रको पक्षमा रहेको बताए।