काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक दल र जनपतिनिधिहरूको चेतना अभावका कारण स्वास्थ्य बीमा कार्यक्रम पनि भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिले शनिबार संसद भवनमा आयोजना गरेको ‘नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै उनले बीमा कार्यक्रम राम्रो भए पनि यसलाई भ्रष्टाचारको माध्यम बनाइएको आरोप लगाए ।
‘स्वास्थ्य बीमालाई ठिक ढंगले प्रयोग गर्ने बारेमा जनप्रतिनिधि र राजनीतिक संघ, संस्थाहरूकै चेतना छैन । सरकारले यो कसरी लागू गरिरहेको छ र यो भित्र भ्रष्टाचार कसरी हुनसक्छ ? भन्ने कुराकै जानकारी छैन,’ सभामुख घिमिरेले भने ।
उनले क्यान्सर जस्ता घातक रोग लाग्नै नदिने र चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने काममा पनि राजनीतिक दल जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने बताए । चेतनाको अभावमा त्यस्ता घातक रोगहरू लाग्ने र त्यसलाई लाग्नै नदिने गरी जनप्रतिनिधिहरूले चेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सभामुख घिमिरेको धारणा थियो ।