पालिका सन्देश/ बुद्धशान्ति साहित्यिक तथा सांस्कृतिक प्रतिष्ठानले बिबिध साहित्यिक कार्यक्रमका साथ आफ्नो ५औं स्थापना दिवस मनाएको छ।
१सय २० औं बालकृष्ण सम जयन्तीको अवसार पारेर मंगलबार बुधबारेमा आयोजित कार्यक्रममा पुरस्कार वितरण, रचना वाचन एवं नयाँ र पुराना पुस्ताले आफ्नो सिर्जना पेश गरेका छन् ।
प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी खतिवडाले बुद्धशान्ति साहित्यिक तथा सांस्कृतिक प्रतिष्ठानको माध्यमले बुद्धशान्ति गाउँपालिकाको भाषा साहित्य , कला र संस्कृतिको विकास गर्न गाउँपालिकाको तर्फबाट पूर्ण सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि साहित्यकार पुण्यप्रसाद खरेलले बालकृष्ण समको योगदान बारे चर्चा गरेका थिए।
उनले बुद्धशान्ति गाउँपालिकालाई भवन र सडकमा मात्रै होइन भाषा, साहित्य र कलाको क्षेत्रमा समेत लगानी गर्न अनुरोध गरेका थिए।
अर्का बिशिष्ट अतिथी एवं सन्चारकर्मी चन्द्र भण्डारीले प्रतिष्ठानको प्रशसा गर्दै नयाँ पुस्ता र विद्यार्थीहरुलाई सिर्जनात्मक उत्प्रेरणा जगाउने महत्वपूर्ण कार्य गरेको उल्लेख गरेका थिए।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलले युवाहरू पनि साहित्यमा समाबेश हुन आवश्यक देखिएकाले बिद्यालय स्तरबाटै साहित्यिक कार्यक्रम संचालनमा प्रतिष्ठान निरन्तर लागिरहने बताए।
कार्यक्रममा अन्तर मावि कविता लेखन तथा वाचन प्रतियोगितामा प्रथम, द्वितीय र त्रितिय भएका बिद्यार्थीहरुलाई प्रतिष्ठानले नगद पुरस्कार र प्रमाणपत्र सहित पुरस्कृत गरेको थियो।
बुद्ध आदर्श माविका सिर्जना चापागाईं प्रथम, कर्णाली एजुकेशन फाउन्डेसनकी पृस्किला राई द्वितीय र न्यु एभरग्रीन माविका अनुप सिन्चुरी त्रितिय भएका थिए।
झन्डै डेढ दर्जन साहित्यकारहरुको उपस्थिति रहेको कार्यक्रममा खुला कविता वाचनमा मेघनाथ बन्धु, रश्मिशेखर सुवेदी , पुन्य बराल , चित्रा पौड्याल , केदार कोइराला , फौदराज खनाल , कमल कोइराला , पुष्प काफ्ले , पदम निरौला , योगेश नेपाल अनन्त , मिना सापकोटा , स्नेह पौड्याल लगायतले सहभागिता जनाएका थिए।
ऋचा गड्तौला र मनिषा चौलागाईं दाहालले बालकृष्ण समका कविता पाठ गरेर सुनाएका थिए।
प्रतिष्ठानका उपाध्यक्ष जय भण्डारीले स्वागत मन्तव्य राखेर अतिथीहरुलाई स्वागत गरेका थिए भने कार्यक्रमको संचालन साहित्यकार टंक विकल्पले गरेका थिए।