बिर्तामोड– तिहार सुरु भएसँगै झापामा सयपत्री फूलको बिक्री बढेको छ । सयपत्री फूलको बिक्री बढेसँगै झापाका सयपत्री फूलको व्यावसायिक खेती गर्ने किसान पनि उत्साहित बनेका हुन् । तिहार सुरु भएसँगै झापामा सयपत्री फूलको बिक्री तीव्र रूपमा बढेको झापाका सयपत्री फूलको व्यवसायिक खेती गर्ने किसान दीपक शाह बताउँछन् ।
विभिन्न संसंस्था, विद्यालयमा दीपावलीको शुभकामना आदानप्रदान जस्ता कार्यक्रम गर्ने क्रम बढेको र ती कार्यक्रमका लागी सयपत्री फूलको फूलमाला खरिद गर्ने ग्राहक बढेको उनले बताए । तिहार सुरु भएसँगै लक्ष्मीपूजा, घर सजावट, भाइटिकामा माला लगाउने र अतिथिलाई स्वागत गर्न सयपत्रीको मालाको प्रयोग बढेसँगै बिक्रीसमेत बढेको उनको भनाइ छ । झापाको बिर्तामोड–७ का सयपत्री फूलको व्यवसायिक खेती गर्ने किसान विवेक साहले पनि यसतबेला सयपत्री फूलको बिक्री अत्यधिक बढेको बताए ।
आफूले भिनाजु दिपक शाहसँग मिलेर दुई विगाह जमिनमा व्यावसायिक सयपत्री फूलखेती गर्दै आएको बताए । उनले हाल दैनिक पाँच सय भन्दाबढी सयपत्री फूलको माला बिक्री गर्दै बिर्तामोड, दमक र विराटनगरका व्यापारीलाई आपूर्ति गरिरहेको जानकारी दिए । तिहारका लागि दैनिक सयपत्री फूलको माग गर्ने बढिरहेको बताउँदै उनले तिहारको चहलपहल सुरु हुन थालेपछि सयपत्री फूल खरिद गर्ने ग्राहकको घुइँचो बढेको जनाए ।
तिहारमा एक लाख माला उत्पादन गर्ने लक्ष्य राखिएको भए पनि असोज १८ र १९ गते आएको अविरल वर्षाले करिब १० हजार माला बराबरको फूल नष्ट भएको उनले बताए । आफूले फूल टिप्ने र माला बनाउने कार्यमा स्थानीयलाई रोजगारी दिइएको बताउँदै फूल टिप्ने, माला तयार पारेर बिक्री गर्न भ्याइनभ्याइ भएको जनाए । हाल प्रतिमाला ५० रुपैयाँमा बिक्री गरिरहेको उनले बताए ।
एकपटक लगाएको सयपत्री फूल तीन पटकसम्म टिप्न मिल्ने बताउँदै उनले एकपटकको टिपाइबाट २० हजार बढी माला हुने जनाए । आफूले पहिलोपटक व्यवसायिक रूपमा सयपत्री फूलखेती गरेको बताउँदै शाहले सयपत्री फूल बिक्रीबाट आफू उत्साहित बनेको जनाए । आगामी दिनमा अझ व्यवस्थित गरेर व्यावसायिक रूपमा सयपत्री फूलखेती गर्ने उनको भनाइ छ ।
शाहले गरेको सयपत्री फूलखेती रहरलाग्दो भएको र त्यहाँ ढकमक्क फुलेका सयपत्री फूलले सबैको मन लोभ्याएको त्यहाँ पुगेका मनोज शाह रौनीयार बताउँछन् । अहिले पनि त्यहाँ टिकटक बनाउने, फोटो खिच्ने, भिडियो बनाएर सामाजिक सञ्जालमा राख्न बालबालिकादेखि युवायुवती,वयस्क उमेरसम्मका पुग्ने गरेको उनले बताए । त्यस्तै झापा विर्तामोड–९ की सुष्मा पौडेल पनि सयपत्री फूलको बिक्रीबाट उत्साहित बनेकी छिन् ।
सात कठ्ठा जमिनमा व्यवसायिक रूपमा सयपत्री फूलखेती गरेकी उनले पछिल्लो समय खादाको सट्टा फूलमालाको प्रयोग बढेसँगै सयपत्री फूलको बिक्री समेत बढेको बताइन् । तिहारका लागि साँचेर राखिएको अढाई लाख बराबरको फूल पानीले नष्ट भएको बताउँदै उनले यसले आफूलाई समस्यामा पारेको जनाइन् । विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा सयपत्री फूलखेती गर्दै आएकी उनले फूलहरूको पर्व अर्थात् तिहार सुरु भएसँगै सयपत्री फूलको बिक्री बढेको बताइन् ।
तिहारको लागी मात्र नभएर विभिन्न राजनीतिक दलका कार्यक्रम, सहकारीका साधारणसभा र अन्य कार्यक्रममा समेत सयपत्री फूलको माला लगाइदिने प्रचलन बढेसँगै सयपत्री फूलको बिक्री बढेको उनको भनाइ छ । झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा व्यावसायिक रूपमा गरेको सयपत्री फूलखेतीबाट आफूहरू सन्तुष्ट बनेको मेची सामुदायिक होमस्टे सञ्चालक समितिकी अध्यक्ष भावना गुरुङले बताइन् ।
झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा मेची सामुदायिक घरबास (होमस्टे) सञ्चालन गर्दै आएका १४ महिलाले मिलेर सामूहिक सयपत्री फूलखेती गरेको बताउँदै उनले आठ कठ्ठा जमिन लिजमा लिएर व्यावसायिक रूपमा गरेको सयपत्री फूलको खेतीबाट आफूहरू सन्तुष्ट भएको बताइन् । तिहारका लागि सयपत्री फूलको मालाको माग बढेको बताउँदै उनले व्यावसायिक रूपमा गरेको सयपत्री फूलको खेतीबाट थोरै खर्च र मेहेनतमा आम्दानी पनि धेरै भएकाले आफूहरू उत्साहित बनेको जनाइन् ।
पहिलोपटक फूलखेती गरेकाले मागअनुसारको माला पुर्याउन गाह्रो भएपछि अर्को वर्षदेखि एक बिघा जमिनमा फूलको व्यावसायिक खेती गर्ने बताउँदै उनले सयपत्री फूल किन्ने ग्राहक बारीमै आउँनाले आफूहरूमा झन हौसला बढेको जनाइन् । सयपत्री फूलको व्यावसायिक खेतीमा मेचीनगर नगरपालिका– ४ का वडाध्यक्ष अर्जुन कार्कीले समेत सहयोग गर्दै आएको बताउँदै उनले सयपत्री फूलखेतीका लागि आफूहरूले जमिन लिजमा लिए घेराबारा गर्नेदेखि विज्ञ व्यक्ति ल्याएर तालिम गराउनसमेत बडाध्यक्ष कार्कीले सहयोग गरेको जनाइन् ।
मेचीनगर–९ का डिल्लीराम उप्रेतीले सयपत्री फूलको व्यावसायिक खेतीबाट आफू सन्तुष्ट भएको बताए । मेचीनगर–९ मा डिएण्डडी बायोप्लान्टेक नामक कम्पनी दर्ता गरेर नर्सरी व्यवसायमा सक्रिय उप्रेतीले आफूले विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा एक बिघा जमिन लिजमा लिएर सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएको बताए । कलकते लोकल र कर्मा ५५५ जातको सयपत्री फूलको खेती गर्दै आएका उप्रेतीले विगतको भन्दा यस वर्ष झापामा सयपत्री फूलको बिक्री बढेको बताए ।
तरकारी, खरबुजालगायतका व्यावसायिक खेती गर्दै आएका उनले चित्तबुझ्दो खेतीको रूपमा सयपत्री फूलको भएको बताउँदै सयपत्री फूलको खेती थोरै लगानीमा धेरै आम्दानी हुने जनाए । सयपत्री फूलको खेतीतर्फ किसानको आकर्षण बढ्दै गए पनि व्यावसायिकरूपमा गर्न नसक्दा फूलको परनिर्भरतालाई अझै हटाउन नसकिएको उनको भनाइ छ ।
उनले कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले किसानलाई प्रोत्साहन स्वरुप सुलभ कर्जा र अन्य अनुदानमा लगानी बढाउने हो भने सयपत्री फूलमा झापालाई आत्मनिर्भर बनाउन सकिने जनाए । झापाको विर्तामोड, बाहुनडाँगी, गौरादह लगायतका स्थानमा सयपत्री फूलको व्यावसायिक खेती विस्तार हुँदै गएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।