झापा । सहकारी संस्थाले नगर तथा गाँउपालिकाभित्रको अचल सम्पत्ति धितोमा ७० प्रतिशतसम्म कर्जा प्रदान गर्न सक्ने भएका छन् ।
सहकारी संस्थाले घरजग्गा धितोमा दिने कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाको तुलनामा धेरै हो ।
नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन २०८१ अनुसार बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितोमा दिने कर्जा भनेको धितो मूल्यांकनको ५० प्रतिशतमात्र तोकेको छ । तर, व्यक्तिगत तथा पहिलो घर निर्माणको सन्र्दभमा भने धेरै छ ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार सहकारी संस्थाले आफ्ना सदस्यलाई महानगर र उपमहानगरभित्रको घरजग्गा धितोमा मूल्यांकनको ६० र नगरपालिका र गाँउपालिकामा यस्तो दर ७० प्रतिशत कामय गरेको हो ।
प्रधिकरणले नेपाल राष्ट्र बैंकले तयार गरेको सहकारी मापदण्डको मस्यौदा परिमार्जन गरेर स्वीकृत गर्दै लागु गरेको छ । प्राधिकरणले संस्थाको कार्यक्षेत्र अनुसार प्रतिसदस्य निक्षेप संकलन सीमा हटाइ लागु गरेको छ ।
प्राधिकरणले लागु गरेको मापदण्ड अनुसार संस्थाले सदस्यबाट मात्र बचत संकलन गर्नुपर्ने छ । संस्थाले प्राथमिक पूँजी कोषको १५ गुणासम्म बचत संकलन गर्न सक्ने छ ।
सहकारीले बैंक तथा वित्तीय संस्था र सहकारी बैंकबाट आफ्नो कुल सम्पत्तिको ५ प्रतिशतसम्म ऋण लिन सक्ने छ । तर, यसरी ऋण लिँदा पूँजी कोषको शतप्रतिशत भन्दा बढी ऋण लिन पाइने छैन ।
सहकारीले प्रतिसदस्य बचत संकलन सीमा सहकारी संस्थाको प्राथमिक पूँजी कोषको १० प्रतिशतसम्म तोकिएको छ । सहकारीले साधारण, नियमित र तीन वर्ष अवधिसम्मका आवधिक प्रकारका बचत खाता सञ्चालन गर्न सक्ने छ । तर, नियमित बचतको अंश कुल बचतको न्यूनतम २५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था मादण्डमा उल्लेख छ ।
सदस्यता लिएको न्यूनतम तीन महिना नपुगेका सदस्यलाई सहकारीले ऋण लगानी गर्न सक्ने छैन । तर, कम्तीमा ६ महिना नपुगेका सदस्यलाई बिनाधितो ऋण लगानी गर्न सक्ने छैन । प्रतिसदस्य प्राथमिक पूँजीको अधिकतम १५ प्रतिशतभन्दा बढी रकम ऋण प्रवाह गर्न सक्ने छैन ।
त्यसैगरी नियमित बचत गरिरहेका सदस्यलाई निजको बचत रकमको ५ गुणा वा बढीमा ३ लाखमध्ये जुन कम हुन्छ, त्यस बराबर रकममात्र बिनाधितो ऋण प्रवाह गर्न सक्ने छ ।
ठूलो कारोबार गर्ने सहकारीले कुल ऋणको न्यूनतम ५० प्रतिशत कृषि, उद्योग र व्यवसाय सञ्चालनरविस्तार लगायत उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्नुपर्ने छ । उक्त सीमाभित्र नरहेका संस्थाले २०८३ असार मसान्तसम्म यस्तो सीमा कायम गरिसक्नु पर्ने छ ।
सहकारीले ऋणीको सम्पत्ति धितो राखी बैंक तथा वित्तीय संस्था र सहकारी बैंकबाट ऋण लिँदा ऋणीले संस्थाबाट लिएको ऋण रकमभन्दा बढी ऋण लिन पाउने छैन । तर, संस्था सञ्चालकले आफ्नो स्वामित्वको सम्पत्ति धितो राखी आफू आबद्ध संस्थाको संस्थागत प्रयोजनका लागि ऋण लिन भने मापदण्डले रोकेको छैन ।
सहकारीले प्रवाह गरेको ऋणलाई किस्तारब्याज भुक्तानी अवधिका आधारमा वर्गीकरण गर्नुपर्छ । भाखा ननाघेका वा भाखा नाघी ३ महिना व्यतित नभएको र सदस्यहरूको बचत सुरक्षणमा प्रवाह गरेको ऋणलाइ सक्रियमा राख्नुपर्छ ।
त्यस्तै ३ देखि ६ महिनासम्म भाखा नाघे कमसल, ६ देखि १२ महिनासम्म भाखा नाघे शंकास्पद र १२ महिनाभन्दा बढीले भाखा नाघेका खराब ऋणमा वर्गीकरण गर्नुपर्छ । त्यसैगरी कर्जाको प्रकृति अनुसार नोक्सानी व्यवस्था पनि गर्नुपर्छ ।
ऋण लगानी बमोजिम असुलउपर गर्नुपर्ने सम्पूर्ण रकम असुल भई सकेपछि सुरक्षण वा राखिएको धितो ऋणी सदस्यले अनुरोध गरेको ७ कार्यदिनभित्र फुकुवाका लागि अनिवार्य रूपमा सम्बन्धित कार्यालयमा लेखी पठाउनुपर्छ ।
सहकारीले असुल गर्ने सिलसिलामा धितो लिलामी गर्दा लिलाम बिक्री नभए आफैंले सकार गर्नुपर्ने छ । सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्ने अघिल्लो दिनसम्म असुल गर्नुपर्ने रकममध्ये जुन कम हुन्छ, सोही मूल्यमा सकार गर्नुपर्ने छ ।