भुवन तामाङ।
देशकै आर्थिक मेरुदण्डको रुपमा अंगिकार गर्दै वि.सं. २०१३ देखि नै तत्कालीन सरकारहरुले सहकारीको थालनी र विकासमा प्रोत्साहन गर्दै आएका छन् । गाउँघरदेखि, हाटबजार अनि शहरसम्मै पनि साना साना पूँजी संकलन, परिचालन गर्दै निम्न वर्गीय देखि मध्यमवर्गीय जनताका समान आवश्यकता परिपूर्ति र आर्थिक उन्नतिमा सहकारी संस्थाहरुले अहम् भूमिका खेल्दै आएका छन् ।
स्वनियममा चल्ने भएपनि पहिलाका सहकारीहरु इमान्दारीता र सेवाभावले जागृत भएर संचालन हुँदै आएका थिए । अपचलन, भ्रष्टाचार र अनियमितता आदि उबेलाका सहकारीहरुमा थिएनन् । आदर्शको नमूना थिए सहकारीहरु । विभिन्न देशका सहकारीहरुका राम्रा सिद्धान्त र शैलीहरु पछ्याउँदै नेपालमा सहकारीहरु जनताको खेतीपाती, दैनिक आवश्यकता र आर्थिक उन्नतिमा एक असल साथीको रुपमा काम गर्दै आएका थिए ।
तर हालको दशकहरुको अवस्था भिन्न भएको छ । सहकारीमै आबद्धहरुले सहकारीका स्वनियमको सजिलोपनलाई दुरुपयोग गर्दै आउन थाले । बैंकहरुमा जस्तो कडा नियमन प्रणाली नभएर पनि होला सहकारीमा आर्थिक विकृति मौलाएर आए । फलतः बचत तथा शेयर रकम अपचलन, ऋण नतिर्ने प्रवृत्ति र भ्रष्टाचार झाँगिए । सदस्यहरुले आफ्ना बचत गुमाएका छन् । मुद्दा मामिलाका घटना अब सामान्य बने । आदर्श सिद्धान्त अंगालेको सहकारी अभियान आजका दिनमा कस्ता भयो ? सबैलाई सर्वविदितै छ ।
अब पुरानै कुरा हेरौँ । धेरै पुराना कुरा त होइन । यो पंक्तिकारसँग सहकारी प्रशिक्षण केन्द्र (हाल केन्द्रीय सहकारी प्रशिक्षण केन्द्र) नयाँ बानेश्वर काठमाडौले २०५६ सालअघिदेखि तयार हुँदै र परिमार्जन हुँदै आएका सहकारी अध्ययन माला (श्रृखला) अध्ययन माला २, ३, ४, ६, ७, ८, ९, १० र ११ संयोगवश प्राप्त भएको छ ।
अध्ययन मालाहरुका नाम या शीर्षक यसप्रकार रहेका छन् । अध्ययन माला—२ सहकारी संस्थाको किसिम, विशेषता र फाइदाहरु, ३—सहकारी संस्था र सदस्य, ४—सहकारी संस्था र संचालक समिति, ६—सहकारी संस्था किन असफल हुन्छन् ? ७—सहकारी संस्थाको कार्यक्रम बजेट तर्जुमा कार्यान्वयन तथा समीक्षा विधि, ८—सहकारी बजार व्यबस्था, ९—जनसंख्या शिक्षा, १०—पारिवारिक जीवन शिक्षा, ११—सहकारी बचत परिचालन ।
यी अध्ययन मालाहरु प्रशिक्षण तथा स्वअध्ययनका लागि तयार गरिएका हुन् । सहकारी शिक्षा समेटिएका छन् । प्रशिक्षण केन्द्रका दक्ष प्रशिक्षकहरुले तयार पारेका हुन् ।
अब लागौँ अध्ययन मालामा उल्लेख सामग्रीका केही अंश अध्ययन गर्नतिर । अध्ययन माला—२ को सहकारी संस्थाहरुले कस्ता खालका विशेषताहरु राख्दछन् ? शीर्षकका सार यस्ता रहेका छन्ः
सहकारी संस्था मानिस प्रधान हुन्छन् । कम्पनिहरुले जस्तो पूँजी, पैसा तथा नाफालाई ध्यान दिदैनन् । सहकारी संस्थाले यसका सदस्य अर्थात शेयरधनीहरुको हितका लागि काम गर्दछन् । सहकारी संस्थाले सेवा पक्षलाई प्राथमिकता दिन्छन् । अन्य संस्था या कम्पनिहरुको बढी नाफा कमाउनु मुख्य उद्देश्य हुन्छ तर सहकारीले सदस्यहरुको सेवामा जोड दिन्छ । सहकारीले ब्यबसाय नै गरेपनि सदस्यहरुको हितलाई केन्द्रमा राख्दछ । नाफा कमाए पनि नाफा सदस्यहरुलाई बाडिन्छ ।
सहकारी संस्थाले समानताको व्यबहार अपनाउँदछ । सहकारीमा सदस्यहरुको जात, धर्म, वर्ग, सामाजिक स्थिति, आर्थिक अवस्था, राजनैतिक पक्षको आधारमा कसैमाथि भेदभावको व्यबहार गरिँदैन । सदस्यहरुले सहकारीसँग गरेको कारोबारको आधारमा सेवा सुविधाहरु प्रदान गर्दछन् ।
सहकारी संस्था पारस्परिक सहयोगमा आधारित हुन्छ । सहकारी संस्थामा सदस्यहरु आफ्नो सामुहिक एवम् बैयक्तिक उत्थान निम्ति सबैको लागि एक र एकका लागि सबै भन्ने आदर्श विचार लिई जुटेका हुन्छन् । सहकारी संस्थाले सदस्यहरुको सामाजिक तथा आर्थिक विकासमा जोड दिन्छ । सहकारीताको माध्यमबाट शान्तिपूर्ण ढंगले समाजलाई उन्नत र विकसित बनाउन सकिन्छ । हरेक सदस्यलाई असल र योग्य नागरिक बनाई समाजलाई नै परिवर्तन गर्ने सहकारीताको अन्तिम लक्ष्य हो ।
सहकारीले समानताको आधारमा शोषणरहीत समाज बनाउने खालका कार्यक्रमहरु संचालन गर्दछन् । सामाजिक सुधारमा पनि सहकारीले जोड दिन्छन् । सहकारी संस्थाहरुले नैतिक ब्यबसाय गर्दछन् । सहकारीले मिसावट नगरिएका शुद्ध वस्तुहरु मात्र बिक्री वितरण गर्दछन् र अनधिकृत व्यापारिक क्रियाकलापहरुमा सहकारीहरु स्वभावैले कहिल्यै संलग्न रहँदैनन् ।
सहकारी संस्थाहरुबाट कस्ता किसिमका फाइदाहरु मिल्न सक्तछन् ? शीर्षकको सार यस प्रकार छन्ः सामाजिक फाइदाहरु, इमान्दारिताको विकास, एकताको भावना, सामाजिक उत्तरदायित्वको अनुभव, नेतृत्व विकास, सामुदायिक विकास, आर्थिक फाइदा र शैक्षिक फाइदा ।
सहकारीहरुको उद्देश्य आफ्ना सदस्यहरुको हित गरि अन्ततः एउटा स्वस्थ र समुन्नत समाजको निर्माण गर्नु हो । सहकारीको कार्य संचालन सदस्यहरुको इमान्दारितामा भर पर्दछ । एकले अर्कोलाई ठग्ने कार्य सहकारीका सदस्यहरुमा हुँदैनन् । सहकारीताको मूल मन्त्र नै पारस्परिक सहयोगको भावना हो ।
सहकारी संस्थाका सबै सदस्यहरु समान हुन्छन्, सबैको समान अधिकारका साथै समान जिम्मेवारी हुन्छन्, जसबाट समाज सभ्य, सुसंस्कृत बन्न पुग्दछ । सहकारीमा हरेक निर्णयमा सदस्यले आफ्नो विचार राख्न स्वतन्त्र हुन्छन् । सामुदायिक विकासका लागि सहकारीले समाजमा खानेपानी, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण जस्ता कार्यक्रम संचालन गर्न सक्दछन् ।
सहकारीले उत्पादन तथा वितरण तरीकालाई सरल र सुगम बनाई आफ्नो सदस्यहरुलाई उनीहरुको आवश्यकता र माग अनुसार वस्तु तथा सेवा उपलब्ध गराउँदछ । सदस्यहरुलाई आर्थिक व्यबहारमा रहेका असमानता, शोषण तथा गरिबीबाट बचाउने कार्य सहकारी संस्थाले गर्दछ । सहकारीले व्यापारिको शोषणबाट सदस्यहरुलाई बचावट गर्दछ । बिचौलिया मुक्त बजार बनाउँदछ । सहकारीले गर्दा विभिन्न वस्तुहरुको बजार मूल्य पनि समान र स्थीर हुन जान्छ ।
यस्ता राम्रा गुणले भरिपूर्ण सहकारी अभियान आज बदनाम हुनपुगेको छ । सुधारका लागि कडा नियमन जरुरी देखिएको छ । अध्ययन माला २ मा अन्य शीर्षकहरुमा पनि शिक्षा मूलक सामग्री समेटिएका छन् । आगामी अंकहरुमा क्रमशः अन्य अध्ययन मालामा उल्लेख शिक्षाका सारहरु प्रकाशित गर्ने प्रयास गरिने छ ।