सिक्किमको टिस्टा नदीमा बाढी आउँदा इलामका १० जना सम्पर्कविहीन भएका भएका छन्। कामको खोजीमा सिक्किम पुगेका उनीहरु एक साता अघिदेखि हराइरहेको बताइएको छ।
असोज १६ गते राति सिक्किमको लाचेन उपत्यकास्थित टिस्टामा बाढी आएको थियो। बाढिमा २२ भारतीय सैनिकसहित झण्डै सय जना व्यक्तिहरु हराइरहेको कुरा अन्तराष्ट्रिय मिडियाले लेखेका थिए।
‘इलाम नगरपालिका वार्ड नम्बर ९ का नै ५–६ जना सम्पर्कमा आउन सकेका छैनन्। सिक्कम पुगेका कतिपय अरु इलामेको सम्पर्क भएको छैन’ इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चौहानले भने, ‘सिक्किमको टिस्टामा बाढि आएपछि त्यहाँ टेलिफोन र विद्युत अवरुद्ध भएकाले पनि उनीहरुबारेको सोधखोज गर्न अफ्ठेरो भइरहेको छ।’ चौहानका अनुसार कम्तिमा १० जना इलामे हराइरहेको गुनासो आइरहेको छ।
उनीहरूको अवस्थाबारे छलफल र खोजीका लागि पहल गर्ने उद्देश्यले आज पीडित परिवार र सरोकारवालासहितको बैठक बोलाइएको छ। इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले पनि सिक्कीममा केही नेपालीहरु हराइरहेको अनौपचारिक खबर आएको स्विकारे। उनले सिक्किम प्रशासनसँग यसबारे बुझ्ने प्रयास भइरहेको र औपचारिक सूचना आएपछि मात्र यसबारे केही भन्न सकिने बताए।



















