सिड्नी— अष्ट्रेलियाको सिड्नीमा तीन दिवसीय ‘धर्म जागरण महासत्सङ्ग’ आध्यात्मिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। श्री योगी नरहरिनाथ एवं आदित्यनाथ फाउन्डेसन अष्ट्रेलियाको आयोजनामा सन् २०२६ जनवरी २ देखि ४ सम्म सञ्चालित उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय कथावाचिका भागवत मञ्जरी राधिका दासीले प्रमुख कथा प्रवचन दिएकी थिइन्। सनातन संस्कृति, नाथ योग दर्शन र आध्यात्मिक चेतना प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महासत्सङ्गको पहिलो दिन मन्त्रोच्चारणसहित कलश यात्रा गरी राधिका दासीको स्वागत गरिएको थियो। औपचारिक सत्रमा संस्थाका सचिव कृष्ण सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संयोजक एवं अध्यक्ष पण्डित नारायण शास्त्रीले कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पारेका थिए।

कार्यक्रमको उद्घाटन सत्रमा न्यू साउथ वेल्सका महावाणिज्यदूत सञ्जीव शर्मा, एनआरएनए एनएसडब्लु राज्य परिषद् संयोजक उषा बारिया पोखरेल, राष्ट्रिय हिन्दू एकता मञ्च नेपालका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद ओली, नेपाली हिन्दू समाजका अध्यक्ष लक्ष्मी बस्ताकोटी, सनातन धर्म महासङ्घ अष्ट्रेलियाका अध्यक्ष राजन अधिकारी लगायतको उपस्थिति थियो। यस्तै, एनआरएनए अभियन्ता रञ्जु वाग्ले, अष्ट्रेलियन जर्नालिस्ट एसोसिएसनका अध्यक्ष कृष्ण तिवारी, सल्लाहकार डा. राजु मानन्धर, तराई एसोसिएसन अष्ट्रेलियाका अध्यक्ष रञ्जित शाह र गायिका जेनिसा गौतमसहित विभिन्न नेपाली सङ्घ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। औपचारिक कार्यक्रमपश्चात् राधिका दासीले भजनसहितको कथा वाचन गरेर भक्तजनहरूलाई मन्त्रमुग्ध पारेकी थिइन्।
दोस्रो दिन राधिका दासीको निरन्तर कथा प्रवचनका साथै विभिन्न धार्मिक चर्चा र भजन प्रस्तुत गरिए। सो अवसरमा राष्ट्रिय हिन्दू एकता मञ्च नेपालका अध्यक्ष इन्द्रप्रसाद ओली र सञ्चारकर्मी चिरञ्जीवी भुसालले मन्तव्य राखेका थिए। कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान तथा प्रशंसापत्र वितरण गरिएको थियो। तेस्रो दिन पनि विशिष्ट अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो, जहाँ अध्यक्ष ओलीले आध्यात्मिक चेतना र जीवन जगतका विविध पक्षमाथि चर्चा गरेका थिए। अन्तिम दिनको सत्रमा वाणिज्यदूत शर्मा, इन्डो–अष्ट्रेलिया सनातन सोसाइटीका प्रतिनिधि योगेश खातर, एनआरएनए अष्ट्रेलियाका पूर्व पदाधिकारीहरू र नेपाली समुदायका अगुवाहरूको सहभागिता रहेको थियो।

संयोजक नारायण शास्त्रीका अनुसार फाउन्डेसनले आयोजना गरेको यस प्रकारको पहिलो कार्यक्रममै समुदायको उल्लेख्य सहभागिता र सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। प्रवासमा नेपाली समुदायबीच आध्यात्मिक एकता र संस्कार हस्तान्तरण गर्न यस महासत्सङ्गले महत्वपूर्ण भूमिका खेलेको आयोजकको निष्कर्ष छ। यसै कार्यक्रमको दीर्घकालीन लक्ष्यस्वरूप श्री योगी नरहरिनाथ वैदिक सनातन हिन्दू संस्कृत विश्वविद्यालय स्थापना गर्ने योजना समेत अघि सारिएको छ। उक्त विश्वविद्यालय स्थापना अभियानको औपचारिक शुभारम्भ आगामी जनवरी २३ गते वसन्त पञ्चमीका दिन ग्रान्ड प्यालेस फङ्सन सेन्टरबाटै गरिने आयोजकले घोषणा गरेका छन्। कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण स्वयंसेवक, दाता र श्रद्धालुहरूलाई आयोजक संस्थाले आभार व्यक्त गरेको छ।




















2 Responses
हार्दिक आभार सहित धन्यवाद
जय जय होस ।