बिर्तामोड। झापाको अर्जुनधारा ९ स्थित सुखानी शहीद स्मृति पार्कमा आज बिहान वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा ९ नं. वडा कमिटीले आयोजना गरेको यस कार्यक्रममा २५० विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्। ‘एक युवा, पाँच बिरुवा’ अभियान अन्तर्गत सम्पन्न भएको यस वृक्षरोपणले सुखानी शहिद पार्कको सौन्दर्यकरणमा थप टेवा पुर्याउने विश्वास गरिएको छ।
वडा कमिटी अध्यक्ष विपुल राईका अनुसार, यस अभियानले पार्कको वातावरण सुधार्न र हरियाली बढाउन महत्वपूर्ण योगदान दिनेछ। उनले भने, “हामीले विभिन्न प्रजातिका बिरुवा रोपेका छौँ जसले पर्यावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ।”
कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटी सदस्य एवम् सङ्गठन विभाग सचिव रोजिना पाण्डे रहनुभएको थियो। पाण्डेले वृक्षरोपणको महत्त्वबारे चर्चा गर्दै युवा वर्गलाई यस्तो सामाजिक कार्यमा संलग्न गराउन आवश्यक रहेको बताइन्। पार्टीका नगर अध्यक्ष बिर्ख बहादुर प्रधान विशिष्ट अतिथिको रुपमा उपस्थित थिए। प्रधानले पनि वृक्षरोपणले वातावरण सुधार्न र समाजमा सकारात्मक सन्देश फैलाउन मद्दत पुर्याउने बताए।
कार्यक्रमको अध्यक्षता सङ्गठनका वडा कमिटी अध्यक्ष राईले गरेका थिए र सञ्चालन राष्ट्रिय युवा सङ्घका घनेन्द्र डाँगीले गरेका थिए। वृक्षरोपण कार्यक्रममा स्थानीय युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले आफ्नो अनुभव बाँड्दै यस प्रकारका कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।