दार्चुला । सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर-घरमा बिरुडा राखेर मनाइँदै छ। आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ ।
आज ब्रतालु महिलाले घरमा ’बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ। जस अन्तर्गत ‘गहत, गहुँ, केराउ, मास र गुराँस’ आदिलाई सङ्कलन गरी विधिवत् कर्मकाण्ड विधि र ‘फाग’ ‘माङल’ गाउँदै गौरा पूजनका लागि प्रयोग हुने अक्षता र प्रसाद स्वरूप सङ्कलित ‘बिरूडा’ लाई एउटा ताम्र पत्र, पित्तल वा उपलब्ध भाँडामा एकसाथ मिलाई व्रतालु महिलाहरूबाट बिरूडा भिजाइने पण्डित देवराज बिस्टले बताउनु भयो ।
शनिबार भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउ वा पोखरीमा लगेर धुने गरिन्छ। सोही दिन बिरुडा धुनुका साथै विभिन्न धार्मिक तथा प्राचीन महत्त्वसँग जोडिएका धार्मिक गाथा, फाग, धमारी चाचरी, सगुना, देउडालगायतका गीत/गाथा गाउनुका साथै भारी खेल खेलेर सुदूरबासी रमाउने गर्दछन् ।
आज बिरूडा पञ्चमीका दिन भिजाइने पाँच प्रकारका गेडागुडीहरूलाई नै ‘बिरूडा’ भनिन्छ। पौराणिक कालमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी बालुवाको शिवलिङ्ग बनाइ १२ वर्षसम्म गरेको कष्टसाध्य तपस्यापश्चात् वरदान पाइ महादेव अर्थात् शिवलाई पति बनाउन सफल भएको धार्मिक मान्यता अनुसार गौरा पर्व मनाउने परम्परा चल्दै आएको छ ।
भगवान् शिव र पार्वतीको पूजा आराधना एवम् व्रत अनुष्ठानबाट सुस्वास्थ्य एवम् सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहँदै आएको छ। यो पर्वमा खास गरेर विवाहित महिलाहरूले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धूमधामका साथ मनाउने गरिन्छ ।