काठमाडौँ । हमासको सशस्त्र समूहले ‘बिदाइ तस्बिर’ भन्दै गाजामा आफ्नो कब्जामा रहेका ४८ जना बन्दीको तस्बिर सार्वजनिक गरेको छ । गाजाको सबैभन्दा ठुलो सहरी केन्द्र कब्जा गर्न इजरायलले निरन्तर आक्रमण गरिरहँदा त्यहाँको समूहले इजरायली बन्धकको तस्बिर सार्वजनिक गरेको हो ।
कस्साम ब्रिगेड्सले शनिबार अनलाइनमा एक संकलित फोटो पोस्ट गरेको छ । जहाँ जीवित र मृतक दुवै बन्दीका तस्बिर छन् । सबैको तस्बिरमा ‘रोन अराड’ क्याप्सन लेखिएको छ । ‘रोन अराड’ सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका क्याप्टेन हुन् । तस्बिरमा नेपालका विपिन जोशी पनि छन् ।
विपिन २० असोज, २०८० देखि हमासको आक्रमणमा परी बेपत्ता छन् । विपिन सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि तथा विज्ञान संकायमार्फत् ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत ४९ जना विद्यार्थीसँगै इजरायल पुगेका थिए । हमासले विपिन र उनका साथी बसेको बंकरमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी मारिएका थिए ।

अराडको एफ–४ फ्यान्टम विमानले दक्षिण लेबनानमाथि आक्रमण गर्न खोज्दा आक्रमणअघि नै बम विष्फोट भई क्षतिग्रस्त बनेको थियो । त्यसपछि अराडलाई आमल आन्दोलनले कब्जामा लिएर हिज्बुल्लालाई जिम्मा लगाएको थियो । अराड मरेको भनिए पनि उनीबारे वास्तविक प्रमाण हालसम्म उपलब्ध छैन ।
हमासले जारी गरेको तस्बिरमा ‘नेतन्याहूको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण गाजा सहरमा सैन्य कारबाही सुरु हुँदाको बिदाइ तस्बिर’ भनी लेखिएको छ । यो लेखाइलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा नरसंहार अन्त्य गर्न हमाससँगको कुनै पनि सम्झौता अस्वीकार गरिरहेको अवस्था र इजरायली सेना प्रमुख इयल जामिरले गाजामा विजय प्राप्त गर्न गरिरहेको जमिन र हवाई आक्रमणसँग सम्बन्धित रहेको बताइएको छ ।
इजरायली अधिकारीहरूले गाजामा अझै पनि २० जना इजरायली बन्धक रहेको बताउँदै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनाभन्दा कम जीवित रहेको भनिसकेका छन् । नेतन्याहू र ट्रम्पले पटक–पटक हमासलाई ध्वस्त पारेर बन्धकलाई फिर्ता ल्याउने बताउँदै आइरहेका छन् ।
गाजामा रहेको प्यालेस्टाइन स्वास्थ्य मन्त्रालयले अक्टोबर, २०२३ देखि इजरायलले गरेको आक्रमणमा हालसम्म ६५ हजार २०८ प्यालेस्टाइनी जनता मरेको र १ लाख ६६ हजार २७१ जना घाइते भएको जनाएको छ । १८ मार्चमा इजरायलले हमाससँग युद्धविराम अन्त्य गरेपछि १२ हजार ६५३ मानिसको मृत्यु र ५४ हजार २३० जना घाइते भएका छन् ।



















