झापा। हल्दिबारी गाउँपालिकामा बाल क्लब तथा बाल संजालका पदाधिकारीहरूलाई लक्षित एक दिने अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ। गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा वडा नं १ का अध्यक्ष देवीबहादुर थापा, वडा नं २ का अध्यक्ष शुकलाल राजवंशी, वडा नं ४ का अध्यक्ष सन्तकुमार थापा, सामाजिक विकास समिति संयोजक शान्ता शिवाकोटी, वडा सदस्य प्रकास कार्की तथा स्थानीय सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूको प्रतिनिधिमूलक सहभागिता रहेको थियो।
अभिमुखिकरण कार्यक्रमको सहजीकरण निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने र बालबालिका शाखा प्रमुख तृष्णा थापाले गरेका थिए। उनीहरूले बाल अधिकार, संरक्षण, बाल विकास, बाल सहभागिता, अधिकार र कर्तव्य तथा बालमैत्री स्थानीय शासन निर्माणका लागि आवश्यक मापदण्डका विषयमा प्रशिक्षण दिएका थिए।
पालिका अध्यक्ष लिङदेनले बालमैत्री गाउँपालिका निर्माण सबैको साझा जिम्मेवारी भएको बताउँदै सबैको सक्रिय सहभागिता र सचेतनाले मात्र लक्ष्य प्राप्ति सम्भव हुने धारणा राखे। उनले बालबालिकाको शैक्षिक विकाससँगै बहुपक्षीय क्षमता अभिवृद्धिमा पनि जोड दिनुपर्ने बताए।
उपाध्यक्ष मैनालीले बालमैत्री तहमा पुग्न बालबालिकाको प्रत्यक्ष सुझाव महत्वपूर्ण हुने उल्लेख गर्दै सिकेका कुराहरू अन्य साथीहरूमा समेत प्रसार गर्न सुझाव दिइन्।
त्यसैगरी वडा नं ४ का अध्यक्ष सन्तकुमार थापाले आफ्नो वडाले पहिलो बालमैत्री वडा बन्ने लक्ष्यसहित आवश्यक मापदण्ड पुरा गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी गराए। उनका अनुसार वडामा बालबालिकासम्बन्धी तथ्याङ्क संकलनको काम सम्पन्न भइसकेको र थप कार्यक्रमहरू पनि निरन्तर सञ्चालन भइरहेका छन्।
कार्यक्रममा बालबालिकाको सक्रिय सहभागिता रहँदै प्रयोगात्मक अभ्यास र श्रव्य–दृश्य माध्यमबाट प्रशिक्षण दिइएको थियो।