हल्दिबारी। हल्दिबारी गाउँपालिका–५ मा पेभर ब्लक जडान तथा पल्म निर्माण कार्यको शिलान्यास गरिएको छ। वडा नम्बर ५ का विभिन्न सडकहरूमा सुरु गरिएको यो योजना आज (जेठ २४) बाट औपचारिक रूपमा कार्यान्वयनमा आएको हो।
सडक निर्माण कार्यको शिलान्यास लामा पढाइ तथा भूमि पूजा गरी पूर्व उपप्रधानमन्त्री तथा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र प्रसाद लिङ्देनले गरेका हुन्। कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष देवीबहादुर थापा, ४ का वडा अध्यक्ष सन्तकुमार थापा , ५ का वडा अध्यक्ष खडगबहादुर लावती सहित जनप्रतिनिधिहरू, संचारकर्मी, प्रहरी , पालिकाका कर्मचारीहरू र स्थानियको उपस्थिति उल्लेखनीय उपस्थिति थियो।
निर्माण हुने सडकहरूमध्ये सातघरेदेखि दक्षिण विश्रामघाटसम्म २२५ मिटर लम्बाइ, वडा कार्यालय जाने ३३५ मिटर लम्बाइ (पल्मसहित), साथै कञ्चनश्री बजार क्षेत्रका सडकहरूमा पेभर ब्लक जडान गरिनेछ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बनका अनुसार, योजनाको अनुमानित लागत १ करोड ८ लाख रुपैयाँ रहेको छ। निर्माण कार्यको जिम्मा शिव शिवालय कन्स्ट्रक्सन प्रालिले लिएको छ, जसले माघ २९ गतेभित्र काम सम्पन्न गर्नुपर्नेछ।
“निर्माण कम्पनीलाई गुणस्तरीय र समयमा काम सम्पन्न गर्न प्रोत्साहित गरिनेछ,” प्रशासकीय अधिकृत बनले बताए।
गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले स्रोतसाधनको सीमितताका कारण काम केही ढिलो भएको स्वीकार गरे। उनले भने, “हामीले यो काम अझै पहिले गर्न चाहेका थियौं, तर अन्य प्राथमिक कामहरूका कारण अहिले सुरु भएको हो। अब कार्यलाई गम्भीर रूपमा अनुगमन गरिनेछ।”
मुख्य अतिथि राजेन्द्र लिङ्देनले हल्दिबारीले विकास निर्माणमा लयबद्धता कायम राख्दै आएको भन्दै सम्पूर्ण स्थानीयवासीलाई बधाई दिए। “योजना, सहकार्य र इमानदारीका साथ अघि बढेमा गाउँको अनुहार नै फेरिन्छ,” उनले उल्लेख गरे।