झापा। स्व. जगतबहादुर-नरमाया वन स्मृति प्रतिष्ठान, हल्दीबारी-३ को आयोजनामा सुरु भएको हल्दीबारी गाउँपालिका प्रथम वडास्तरीय फुटबल प्रतियोगितामा आज सम्पन्न खेलमा वडा नं २ र ५ विजयी भएका छन्।
पहिलो खेलमा वडा नं ५ ले वडा नं ३ लाई ३-१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो। वडा नं ५ का जर्सी नं ४ का खेलाडी जलन खवासले दुई गोल गरेका थिए भने जर्सी नं ७ का खेलाडी राम लिम्बुले एक गोल थपेका थिए।
वडा नं ३ का तर्फबाट हेमन्त पराजुलीले सान्त्वना गोल फर्काएका थिए। खेलको म्यान अफ द म्याच वडा नं ५ का जलन खवास घोषित भए।
दोस्रो खेलमा वडा नं ४ र वडा नं २ बीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक खेलमा वडा नं २ ले पेनाल्टी सुटआउटमार्फत हिरन राजवंशीको गोलसँगै जित दर्ता गर्यो। खेलको म्यान अफ द म्याच वडा नं २ का गोलकिपर समिर लिम्बु घोषित भए।
प्रतियोगिताको उद्घाटन समारोह प्रतिष्ठानका संस्थापक संरक्षक डम्बर वनको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन रहेका थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, झापा प्रहरी प्रमुख एसपी मिलन केसी, सशस्त्र प्रहरी प्रमुख एसपी तुलाराम भण्डारी, हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली लगायत विभिन्न जनप्रतिनिधि तथा अधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिता भोलि सम्म सञ्चालन हुनेछ। विजेता टिमले नगद १५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्ने आयोजक तथा हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान ब. वन (महेन्द्र) ले जानकारी दिए।