१४ वर्षदेखि अलपत्र कन्काई पुल: उम्मेदवारलाई मतदाताको प्रश्न– ‘पुल कहिले बन्छ ?’

  • सुरेन्द्र भण्डारी

झापा । हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज–१ जोड्ने कन्काई नदीमा पुल निर्माण थालिएको करिब १४ वर्ष बितिसक्दा पनि काम पूरा भएको छैन। सडक विभाग अन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीले पप्पु–महादेव–खिम्ती संयुक्त उपक्रम (जेभी) सँग सम्झौता गरी पुल निर्माण प्रक्रिया अघि बढाएको थियो।


सात सय २३ मिटर लामो उक्त पुल निर्माणका लागि २०६८ जेठ ३१ गते सम्झौता भएको थियो। पाँचपटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न नभएपछि गत मंसिरमा ठेक्का सम्झौता अन्त्य गरिएको सूचना योजना कार्यालय इटहरीले जारी गरेको छ। ‘डिजाइन एण्ड बिल्ड’ ढाँचामा करसहित ३४ करोड ९ लाख रुपैयाँको लागतमा सुरु गरिएको पुलको भौतिक प्रगति १४ वर्षमा ५६ प्रतिशत मात्र देखिएपछि ठेक्का रद्द गरिएको हो। अहिले कन्काई पुल पूर्ण रूपमा अलपत्र अवस्थामा छ।
स्थानीयको आन्दोलन र नेताहरूको आश्वासन
पुल निर्माणको माग गर्दै दक्षिणी झापाका स्थानीयवासी पालिकादेखि मन्त्रालयसम्म पुगे। माग सुनुवाई नभएपछि गत असोजमा स्थानीय मुकेश राजवंशीको नेतृत्वमा स्थानीयले प्लेकार्डसहित पुलमै धर्ना दिएका थिए। ‘हामीबाट भयो भुल, सरकार चाँडो बना पुल’ लगायतका नारासहित उनीहरूले सरकारको ध्यानाकर्षण गराए।

EPIC EPIC EPIC


त्यसपछि गत असोज २६ गते तत्कालीन विभागीय मन्त्रीले पुलको स्थलगत निरीक्षण गर्दै निर्माणबारे छिट्टै निर्णय गरिने आश्वासन दिएका थिए। तर, पुल निर्माणको काम अघि नबढेपछि प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि मत माग्न गाउँ पुग्ने उम्मेदवारलाई स्थानीयले एउटै प्रश्न गर्ने गरेका छन्– ‘कन्काईको पुल कहिले बन्छ ? अनि यो पुल कसले बनाउँछ ?’


कन्काई नदीमा पुल नहुँदा वर्षौंदेखि सास्ती व्यहोर्नु परेको, व्यापार–व्यवसायमा असर परेको र वर्षायाममा आवतजावत ठप्प हुने गरेको गुनासो स्थानीयको छ। वर्षेनी बाँसको अस्थायी पुल (चचरी) निर्माण गरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता सुनाउँदै उनीहरूले पुल निर्माणलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
नेपाली कांग्रेस झापाका सभापति समेत रहेका प्रतिनिधिसभा सदस्य उम्मेदवार देउकुमार थेवे लिम्बू भन्छन्, ‘हामी उम्मेदवारहरूले आफ्ना एजेण्डा सुनाउनु पूर्व नै स्थानीयले पुल निर्माणको विषय उठाउने गरेका छन्।’
कन्काई माई र सानो माईको कटान तथा डुबानबाट झापा गाउँपालिकाका बासिन्दा पीडित छन्। थेवेले थपे, ‘यसअघि निर्वाचित जनप्रतिनिधिले देखाएको आश्वासनका कारण गाउँमा सहज रूपमा मत माग्न सक्ने अवस्था छैन। विगतमा आफूले गरेका विकास निर्माणका कामलाई स्मरण गराउँदै अहिले मतदाता भेट्ने काम भइरहेको छ।’
विकासको दृष्टिकोणले पछि परेको झापा–४ को विकास नै आफ्नो मुख्य एजेण्डा रहेको बताउँदै उनले भने, ‘हामी अहिले नै यो गर्छौं र त्यो गर्छौं भन्न सक्ने अवस्थामा छैनौं। तर चुनाव जिते पनि हारे पनि यही क्षेत्रको विकास गर्ने हाम्रो पहिलो प्रयास हुनेछ।’


झापा गाउँपालिका–१, सीतुमारीका स्थानीय छवि पौडेल भन्छन्, ‘अब मत माग्न आउने उम्मेदवारले विगतमा सुनाए जस्तो आश्वासनमा हामी अल्झिदैनौं। जसले कन्काईको पुनःनिर्माण, कन्काई माईमा तटबन्ध र दिघलबैंक नाका खोल्ने ठोस प्रतिबद्धता जनाउँछ, उसैलाई हामी मत दिन्छौं।’


झापा क्षेत्र नं. ४ मा ६६ हजार २ सय ८३ पुरुष र ६४ हजार ४ सय २८ महिला गरी कुल १ लाख ३० हजार ७ सय १२ जना मतदाता रहेका छन्।


चुनावी मैदानमा १६ उम्मेदवार
आसन्न निर्वाचनका लागि यस क्षेत्रबाट विभिन्न दल र स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी मैदानमा छन्:

  • देउकुमार थेवे (नेपाली कांग्रेस)
  • लालप्रसाद साँवा लिम्बू (नेकपा एमाले)
  • शम्भुप्रसाद ढकाल ‘सुस्केरा’ (राष्ट्रिय स्वतन्त्र पार्टी)
  • ताराबहादुर थापा (नेकपा माओवादी केन्द्र)
  • भक्तिप्रसाद सिटौला (राष्ट्रिय प्रजातन्त्र पार्टी)
  • अमृतादेवी राई (श्रम संस्कृति पार्टी)
  • पुरुषोत्तम चुडाल ‘राजु’ (नेपाली कम्युनिष्ट पार्टी)
  • किरण लिम्बू लिङ्देन (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च)
  • तुलसीलक्ष्मी दुमरु (नेपाल मजदुर किसान पार्टी)
  • दिलीप धिमाल (मंगोल नेशनल अर्गनाइजेशन)
  • पल्टन ताजपुरिया (जनता समाजवादी पार्टी नेपाल)
  • सन्तोष तामाङ (उज्यालो नेपाल पार्टी)
  • लोथ्रो हेमरम (जनमत पार्टी)
  • टेकबहादुर अधिकारी (नेकपा माक्सवादी–पुष्पलाल)
  • त्रिनारायण राजवंशी (राष्ट्रिय मुक्ति पार्टी नेपाल)
  • साजन माझी (स्वतन्त्र उम्मेदवार)
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *