इलाम (चुलाचुली) । १५ बेडको अस्पताल संचालन गर्ने इलामको प्रथम पालिकामा चुलाचुली गाउँपालिका भएको छ । इलामको चुलाचुली गाउँपालिकाले आफ्नै भवनबाट आधारभुत अस्पताल संचालन गरेसँगै अस्पताल संचालन गर्नेमा प्रथम पालिका बनेको हो । राज्यको पुनःसंरचनापछि एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने सरकारको निति अनुसार १५ बेडको अस्पताल निर्मण सम्पन्न गरि संचालन गर्ने पालिकामा चुलाचुली प्रथम भएको हो ।
दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा १५ शैँयाको अस्पताल संचालनमा आएको छ । एक स्थानीय एक अस्पताल बनाउने सरकारको निति अनुसार भवन निर्माण भएपछि अस्पताल पूर्ण रुपमा संचालनमा आएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । भवन नबन्दै गाउँपालिकाले आफ्नै भवनमा अस्पताल सञ्चालन गरेर बिरामीलाई उपचार सेवा दिँदै आएको थियो ।
समान्य उपचारका लागि झापाको दमक धाउने चुलाचुलीबासीले मेडिकल अधिकृत नेतृत्वको स्वास्थ्यकर्मीबाट उपचारको सेवा पाउने गरेका हुन् । चुलाचुली गाउँपालिका २ मा सञ्चालित अस्पतालमा स्वास्थ्य बीमाको पनि सुविधा छ । गाउँमा अस्पताल नहुँदा झापा जिल्ला धाउनुपर्ने बाध्यता हटेको हो ।
अस्पतालमा दैनिक एक सय बिरामीले सेवा लिँदै आएका छन् । अस्पतालमा नसर्ने रोग प्रेसर, सुगर, थाइराइड, मुटुको पनि जाँच हुन्छ । अस्पतालमा मानसिक रोग विषेशज्ञ र फिजिसन डाक्टरबाट हप्तामा एक पटक उपचार सेवा प्रदान गर्ने व्यवस्था छ ।
जटिल प्रकारका बिमारीलाई सुविधा सम्पन्न अस्पतालमा रेफर गर्दै आएको छ । रेफर गर्दा अशक्त, वृद्ध, गरिब परिबारले पालिकाको एम्बुलेन्सबाट निःशुल्क सुविधा लिन्छन् । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले स्वास्थ्य बिमा कार्यक्रमको सुरु भएदेखि नै नागरिकले राम्रो सेवा पाएको बताए ।
अशक्त अपाङ्ग र सुत्केरी महिलालाई दिनुपर्ने सेवा वर्षौंदेखि इलामबासी भएर पनि झापामा लिन जानुपर्ने बाध्यता अस्पताल संचालनपछि हटेको छ । पूर्ण रुपमा उपकरण ल्याएर अस्पताल सञ्चालन भएको र आफ्नै फार्मेसी पनि संचालनमा रहेको छ । चुलाचुली आधारभुत अस्पताल संघीय सरकारको सहयोगमा १२ करोड ९० लाख लागतमा निर्माण भएको थियो । १५ कट्ठा १० धुरमा तीनतले अस्पताल निर्माण गरिएको प्रमुख प्रशासकिय अधिकृत दिलकुमार लिम्बुले बताए ।