निर्वाचनका कारण भारतीय सीमाक्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा छिर्ने गरेको भारतीय अण्डा रोकिएपछि नेपाली किसानले अण्डाको लागत मूल्य पाउन थालेका छन् । यससँगै नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले किसानको फार्म मूल्यलाई आधार बनाएर जारी गरेको नयाँ मूल्य सूचीमा प्रतिक्रेट (३० वटाको) रु.५५ ले वृद्धि भएको छ । यसअनुसार, अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट रु.५२०, ठूलो अण्डा रु.५०५ र मिडियम रु.४९० कायम गरिएको छ ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो । उनले भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रन नपाएको बताए ।
सङ्घका सल्लाहाकार त्रिलोचन कँडेलका अनुसार भारतमा प्रतिगोटा अण्डा भारतीय रु.७.८० मा बिक्री भइरहेको छ । भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अण्डा भित्र्याउने प्रयाससमेत नगरिएको हो । उनले नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु.१६.५७ पर्न आउने र अहिलेको दररेटमा अण्डा बिक्री गर्दा नेपाली किसानले लागत मूल्य पाएको बताए ।
सङ्घका अध्यक्ष पोखरेलले जाडो महिनामा चिसोबाट जोगिनका लागि अण्डा खानुपर्छ भन्ने जनचेतनाले माग बढेको बताए । तीन महिनाअघि ठूलो अण्डा प्रतिक्रेट रु.५३० पुगेकोमा क्रमशः रु.४०० मा झरेको थियो र अहिले पुनः क्रमश बढ्दै लागत मूल्य पाउने अवस्थामा पुगेको हो । अहिले नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने गरेको अनुमान छ । यस मूल्यवृद्धिले किसान लाभान्वित हुने देखिएको छ ।



















