बनियानी । कचनकवल गाउँपालिकाले अत्यधिक गर्मीका कारण पठनपाठन प्रभावित भएको जनाउँदै पालिकाभित्रका सम्पूर्ण विद्यालयमा दुई दिनका लागि गर्मी बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले बुधबार एक सूचना जारी गर्दै विभिन्न विद्यालय र अभिभावकहरूबाट प्राप्त अनुरोधका आधारमा बिहीबार (आज) र शुक्रबार (भोलि) विद्यालय बन्द गरिने निर्णय लिएको जनाएको हो।
निर्णयअनुसार पालिकाभित्रका सामुदायिक, संस्थागत तथा धार्मिक सबै विद्यालय बन्द रहनेछन्। उक्त बिदा विद्यालयको हिउँदे वा वर्षे बिदाबाट कट्टा गरिने पनि सूचनामा उल्लेख छ।
विद्यालयहरूलाई उक्त निर्णयको कडाइका साथ पालना गर्न आग्रह गरिएको छ। सो सम्बन्धी सूचना प्रमुख प्रशासकीय अधिकृत स्काई पोखेलद्वारा हस्ताक्षरित पत्रमार्फत जारी गरिएको हो।
