एमाले केन्द्रीय सदस्यमा चिन्तन पाठकको उम्मेदवारी

पालिकासन्देश | झापा राजनीतिक तथा सामाजिक वृत्तमा ‘चिन्तन पाठक’का नामले परिचित नेता तिलचन पाठकले नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। लामो समयदेखिको संगठनात्मक अनुभव, शालीन व्यक्तित्व र स्पष्ट राजनीतिक छविका कारण उनलाई पार्टीको केन्द्रीय नेतृत्वका बलिया दाबेदारका रूपमा हेरिएको छ।

विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन सुरु गरेका पाठक हाल कोशी प्रदेश हुँदै पार्टीको केन्द्रीय नेतृत्वतर्फ उन्मुख देखिन्छन्। उनले सरस्वती प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरी बुधबारेस्थित बुद्धआदर्श माध्यमिक विद्यालयबाट माध्यमिक तह उत्तीर्ण गरेका हुन्। उच्च शिक्षातर्फ धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह (आई.एल.) प्रथम वर्ष तथा काठमाडौंको नेपाल ल क्याम्पसबाट दोस्रो वर्ष पूरा गरेपछि इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट कानून विषयमा स्नातक अध्ययन सम्पन्न गरेका छन्। पूर्णकालीन राजनीतिमा लाग्नुअघि उनी कानून व्यवसायमा पनि संलग्न थिए।

EPIC EPIC EPIC

उनको राजनीतिक यात्रा २०३६–२०३७ सालको विद्यार्थी आन्दोलनबाट सुरु भएको हो। २०३८ सालमा अनेरास्ववियूसँग आबद्ध भएपछि उनले विद्यालयस्तरको प्रारम्भिक कमिटीदेखि जिल्ला, अञ्चल र केन्द्रीय तहसम्म विभिन्न जिम्मेवारी सम्हाल्दै संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरे। महेन्द्र बहुमुखी क्याम्पस, धरानको प्रारम्भिक कमिटी सचिव, अनेरास्ववियू काठमाडौं नगर कमिटीको कोषाध्यक्ष, सचिव र अध्यक्ष हुँदै उनी १२औँ, १३औँ र १४औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य तथा सचिवालय सदस्य बने। सो अवधिमा उनले शिक्षा विभागको जिम्मेवारी समेत सम्हालेका थिए।

विद्यार्थी संगठनपछि पार्टी राजनीतिमा प्रवेश गरेका पाठकले २०४७ सालमा औपचारिक पार्टी सदस्यता लिएपछि बुधबारे गाउँ कमिटी सचिव, इलाका सचिव, क्षेत्रीय सचिव, झापा जिल्ला सचिव हुँदै जिल्ला अध्यक्षसम्मको जिम्मेवारी सम्हाले। नेकपा गठनपछि पनि उनी जिल्ला अध्यक्षका रूपमा संगठन सञ्चालनमा सक्रिय रहे। हाल उनी नेकपा एमाले कोशी प्रदेश कमिटीको सचिवको जिम्मेवारीमा छन् भने प्रदेश अधिवेशनपछि केन्द्रीय सल्लाहकार सदस्यका रूपमा पनि सक्रिय रहेका छन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनेका पाठक झिनो मतान्तरले पराजित भए पनि पार्टीका अधिकांश उम्मेदवारलाई जिताउन सफल भएको बताइन्छ। त्यसैगरी २०७९ मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा झापा क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएसँगै उनी युवामाझ लोकप्रिय नेताका रूपमा स्थापित भएका छन्।

लामो संगठनात्मक अनुभव, जिम्मेवारीप्रतिको इमान्दारिता र स्वच्छ राजनीतिक छविका कारण तिलचन पाठक झापा मात्र होइन, कोशी प्रदेश र नेकपा एमालेभित्र प्रभावशाली र सक्षम नेताका रूपमा हेरिँदै आएका छन्। यही पृष्ठभूमिमा उनले ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका हुन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *