काठमाडौं – अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूको निष्कासन प्रक्रिया जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले छ जना नेपालीलाई देश निकाला गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीलाई अमेरिकी अध्यागमन अधिकारीहरूले फिर्ता पठाएको हो।
निष्कासनमा पर्नेहरूमा जिसी, भण्डारी, बुढा, कुसारी, बस्नेत, र बानियाँ थरका एक-एक जना रहेका छन्। उनीहरूलाई एयर इन्डिया को विमानमार्फत नेपाल फर्काइएको छ। स्रोतका अनुसार उनीहरू हालै काठमाडौं अवतरण गरेका थिए।
‘अध्यागमन कानुन उल्लंघनको आरोप’
‘गैरकानुनी रूपमा अमेरिकामा बसेर त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल फिर्ता पठाइएको हो। अमेरिकाले अवैध रूपमा रहेका नेपालीहरूको निष्कासन प्रक्रिया तीव्र पारेको छ,’ स्रोतले जानकारी दियो।
अमेरिकाले आप्रवासनसम्बन्धी नीति कडा बनाउँदै आएको छ। डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भएपछि आप्रवासन नीति कडा पार्दै गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीहरूलाई नियन्त्रण गर्न कडा कदम चालिएको थियो। पछिल्लो समय अमेरिकाले चार्टर्ड विमानमार्फत ११ जना नेपालीलाई नेपाल फर्काएको थियो।