झापा । अमेरिकाको मेरिल्याण्डको प्रिन्स जर्ज काउन्टीमा गाडीको ठक्करबाट ४० बर्षीया नेपाली महिला बर्खा खड्का प्रसाईको निधन भएको छ । सपर्स वे मा मेडिकल सेन्टर ड्राइभ पार गर्न लाग्दा प्रसाईलाई गाडीले ठक्कर दिएको थियो भने गाडी सहित घटनास्थलबाट फरार चालकलाई पछि प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटना सोमबार बेलुका ७ बजे भएको थियो ।
तत्कालै नजिकको अस्पतालमा लगिएपनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । झापाको बुद्धशान्ती गाउँपालिका स्थायी घर भएकी प्रसाई अमेरिकाको मेरिल्याण्डमा नै बस्दै आएकी थिइन् ।
इन्टरनेशल अर्गनाइजेशन फर माइग्रेशन आईओएममा कार्यरत प्रसाई दुईमहिना अगाडिमात्र आईओएम अन्तरगत अमेरिकामा काम गर्नका लागि आएकी थिइन् । सुरुमा अफगानिस्तानबाट आएका शरणार्थीहरुको कामका लागि भर्जिनियाको फोर्टलीमा रहेको आर्मी क्याम्पमा खटाइएको थियो ।
उनको अवधि थप गरेर मार्चसम्मका लागि वासिंटन डिसीमा रहेको आईओएम मुख्यालयमा खटाइएको थियो । गतसाता देखिमात्र वासिंटन डिसीको मुख्यालयमा काम गर्न थालेको पारिवारिक श्रोतले जनाएको छ । प्रसाईलाई मेरिल्याण्डमा आफन्तकोबाट घर फर्कने क्रममा ट्रेनबाट निस्केर बाटो क्रस गर्नलाग्दा गाडीले ठक्कर दिएको हो ।उनी नेपाली काङ्ग्रेस बुद्धशान्ति गाउँ उपसभापति मदन प्रसाईंकि श्रीमती हुन्।