काठमाडौं | अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कडा अध्यागमन नीतिको प्रभाव पुनः देखिन थालेको संकेत अमेरिकी भिजिटर भिसामा देखिएको गिरावटबाट प्रष्ट हुन्छ। पछिल्लो महिनामा नेपालीले प्राप्त गर्ने भिजिटर भिसाको संख्या उल्लेख्य रूपमा घटेको छ।
अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार मार्च २०२५ मा १,५५० जना नेपालीले अमेरिकाको भिजिटर भिसा प्राप्त गरेका छन्। फेब्रुअरीमा यो संख्या १,८३८ थियो भने जनवरीमा २,१५० जना नेपालीले यो भिसा पाएका थिए। यद्यपि डिसेम्बर २०२४ मा भिजिटर भिसा पाउने संख्या १,१९० मात्र थियो।
हालको तथ्यांकले भिजिटर भिसामा पुनः कठोरता देखिन थालेको संकेत गर्दछ। आर्थिक वर्ष २०२४ मा नेपाली आवेदकहरूमध्ये मात्र ५०.५ प्रतिशतले भिजिटर भिसा प्राप्त गरेका थिए। बाँकी करिब ४९.५ प्रतिशत नेपालीको आवेदन अस्वीकृत गरिएको थियो।
अघिल्लो वर्ष, २०२३ मा भने झण्डै ६९ प्रतिशत नेपालीले भिजिटर भिसा पाएका थिए। त्यतिबेला अस्वीकृत दर ३१.३ प्रतिशत मात्र थियो। सन् २०२२ मा यो दर झन् कम १९.८५ प्रतिशत थियो, जहाँ २२,७२९ नेपाली आवेदकमध्ये १८,२४५ जनालाई भिसा दिइएको थियो।
सन् २०२१ मा त झण्डै ८१ प्रतिशत नेपालीले भिजिटर भिसा पाएका थिए। कुल ८,७७३ आवेदकमध्ये ७,१२८ जनाले भिसा पाए। कोरोना महामारीका कारण भिसा नविकरण प्रक्रिया सजिलो भएपछि स्वीकृति दर उल्लेख्य रूपमा उच्च रहेको थियो।
यद्यपि ट्रम्प प्रशासनको समयमा भिसा अस्वीकृत दर सधैं उच्च देखिएको थियो। सन् २०२० मा १५ हजारभन्दा बढी नेपालीले आवेदन दिएका थिए, तर करिब ७,७५१ जनाले मात्र भिसा पाए। अस्वीकृत दर ४८.१ प्रतिशत रहेको थियो। २०१९ मा यो दर ५०.७ प्रतिशत र २०१८ मा ५१.५ प्रतिशत थियो।



















