Search
Close this search box.
Search
Close this search box.

अशिमला ‘तमु ल्होछार’को

भुवन तामाङ

पौष १५ मा गुरुङ समुदायले उनीहरुको महान् चाड ‘तमु ल्होछार’ मनाउँदछन् । ल्होछार चाड मुख्यतः बौद्ध समुदायले मनाउंदछन् । ल्होछार उनीहरुको प्रमुख चाड हो। गुरुङ् समुदाय पनि बौद्ध मार्गी हुन् ।

EPIC EPIC EPIC

वास्तवमा गुरुङ समुदाय नै तमु समुदाय हुन्। तमुहरुको प्राचीन थलो मनाङ जिल्लाको सबैभन्दा उच्च भूभाग ‘फू’ र ‘स फे ती क्याल्सा’ मा भएको विश्वास छ। वर्तमानमा उनीहरुको घना बसोबास गण्डकी क्षेत्रमा भएको पाइन्छ ।

तमुहरु माघे सङ्क्रान्ती, श्रीपञ्चमी, फागुपूर्णिमा, चैत्रमा ट्हो त्हे, ल्याँखु, वैशाखमा वायोपूजा, चण्डीपूजा र घाटु नाच, जेठमा सिल्दो रहे, गैडु (गोठपूजा), असार १५, साउने सङक्रान्ती र ट्हो त्हें, भदौमा हरेलोपूजा, असोजमा फैलु र स्यौं पूजा, दशैं, तिहार, कार्तिकमा धी त्हें (घर रखवार, मंसिरमा न्वागी र पुष १५ मा ल्होछार मनाउँदछन् । यस चाडमा विशेष गरी भगवान बुद्धको महिमा तथा पुजा गरिन्छ । आफ्‌नै धर्मगुरुहरुः मच्यू, क्लहेबू र लम (लामा) बाट निर्देशित भई धार्मिक एवं सामाजिक संस्कारहरु सम्पन्न गर्दछन् ।

तमु समुदायको धर्म र संस्कृतिलाई गुरुङ भाषामा ‘प्ये ताँ ल्हु ताँ’ भन्दछन्। यो गुरुङ इतिहास र संस्कृतिको मौखिक नाली-बेली हो। उनीहरु प्रकृति, नदी-नाला, डॉडा-कांडा, रुख, ढुंगा, पानीको मुहान आदिको पुजा गर्दछन् । सूर्य, चन्द्र, तारा लगायत नौ ग्रहको पनि पूजा गर्दछन्। उनीहरु प्राय उच्च भू-भागमा बाक्लै धीं ( घर) बनाएर नास (गाऊँ) मा बस्छन्। लमजुङको “घलेगाउँ” नमूना गाउँको रुपमा रहेको छ ।

ल्हो (वर्ग, वर्ष अनि छार/क्षार (नयाँ) ल्होक्षार अथर्थात नयाँवर्ष हो। ल्हो एक पद्धति हो। यस पद्धतिको उत्पत्ति र विकास चीनमा भइ अन्य मुलुकहरुमा प्रसार भएको मानिन्छ। ल्हो बाइओटा हुन्छन् । बाह पशु- पंक्षीहरुको नामबाट ल्होका नाम रहेका छन्। ल्हो पद्धतिको बाढ़-ल्हो र भारतीय ज्योतिष पद्धतिको बाह-राशी सम्बन्धी अवधारणाबीच अन्तरसम्बन्ध पाइन्छ । तमू चि (ज्योतिषशास्त्र। अनुसार ल्हो अथवा वर्ग, वर्ष अनुसार मानिसको उमेर गनेर पार्ग (कुण्डली) चक्रमा भिडाएर शुभ-अशुभ फल पनि बताइन्छ ।

भगवान बुद्धले आफू परिनिर्वाण हुनु अगावै सबै मानव तथा जीवजन्तु समेतलाई परिनिर्वाण हुँदैछु भनी जानकारी गराउनु भएको थियो। एक कथा अनुसार पशुपंक्षीहरुले पनि चाड पर्व मनाउने हुँदा एउटा पर्वको रुप दिन भगवान बुद्धले सबै पशु-पंक्षीहरुलाई एकदिन भोजको निमन्त्रणा दिनुभयो। तर सो भोजमा १२ वटा पशु-पंक्षीहरुमात्र आएकाले तिनैका नामबाट १२ वटा वर्ष, क्रमानुसार आउने पशु-पंक्षीकै नामबाट चाड ( पर्व) को नामाकरण गर्नुभयो। भोजको अन्तमा भगवान बुद्धले उपस्थित सबै पशु-पंक्षीहरुलाई आर्शिवाद दिँदै अब जन्मने मानिसहरुको, यस भोजमा आउने पशु-पंक्षीहरुको झै क्रमानुसार, स्वभाव, चरित्र र जीवनयात्रा हुनेछ भन्नु भयो । त्यसैले आजसम्म पनि बौद्ध धर्म सम्प्रदायमा ती पशु-पंक्षीको सम्मानमा नयाँवर्ष (ल्होछार) मनाउने र मानिसहरुको स्वभाव पनि तिनै पशु-पंक्षीहरुको झै हुने विश्वास गरिन्छ ।

ल्होछारबारे नेपाली समाजले अरु गहन खोज हुनु जरुरी रहेपनि आदिबुद्धकालदेखि नै ल्होछार परम्परा चलेको विश्वास छ। यो पर्व हिमाली किसानहरुको खेती किसानी, बालीनाली र सकुन अपसकुन, फलिफाप, अनिकाल, सहकालसँग सम्बन्धित भएको विश्वास छ । आदिकालदेखि किसानहरुले वितेको वर्षको नराम्रोपक्षलाई विर्सन र नयाँवर्षमा राम्रो होस भनी उत्सवको रुपमा मानिल्याए । र, पछि बुद्धले १२ जीवको प्रसंग जोडिदिनुभइ अभ्झ महत्वपूर्ण पर्वको रुपमा स्थापित हुनका साथै ल्हो पद्धतिको विकास समेत हुनमा पनि योगदान पुगेको देखिन्छ ।

तमू (गुरुङ) हरुले मानिल्याएका बाइ ल्हो र तिनका अर्थः तः (घोडा), ल्हु (भेंडा), प्रः (बाँदर), च्या (चरा), खिः (कुकुर), फो (मृग), च्यु (मुसा), ल्यों (गाई), तो (बाघ), हृवीं (बिरालो), सष्ट्रि (सर्प/नाग), मुष्द्धि (गरुड/ड्रागन) । एक जीव एक वर्ष, वर्ग हुन्छ ।

ल्होक्षार, ल्होछार, लोसार कि लोसर ? यी चारैको एउटै अर्थ ‘नयाँवर्ष’ हुन्छ । तमूहरुले जस्तै तामाङ, शेर्पा, मगरहरुले पनि ‘ल्हो’ लाई १२ जीवजन्तुमा आधारित वर्ष, वर्ग र ‘क्षार’ लाई नयाँ भन्ने अर्थ मान्दछन् । जनजिब्रोमा लोछार या लोसार प्रचलित हुँदै आएकाले लोछार या लोसार भनिएको हो ।

तमुहरु सौरमास अनुसार पुस १५ गतेका दिन ल्होक्षार सामाजिक पर्वको मान्दछन् । यसलाई नयाँ वर्ष प्रारम्भको रुपमा मान्दछन् । तमु ल्होछार तिब्बतको सर्वप्राचीन ‘तोल लो सर’को एउटा विकसित रुप हो । तसर्थः ‘तोला ल्होछार’ पनि भनिन्छ ।

तमु समुदायमा ल्होछारको अवसरमा हप्तादिन अघिदेखिनै चाडको खुशीयाली र रौनक छाउँदछ । चाडको तयारीमा सिंगै परिवार तथा समुदाय हर्षोल्लासका साथ लाग्दछन् । व्होछारको अघिल्लो दिन शुभमुहुर्तमा गुरुङ समुदायको घर-घरमा स्वस्ती-शान्ति गरिन्छ। ल्होछारको दिन अर्थात पुस १५ का दिन सबैले आ- आफ्‌नो ग्रह-शान्ति र कुशल मङ्गलको कामनासहित घ्यूबत्ती बालेर चोखोपानी, अक्षता र अन्य चोखो खानेकुरा चढाई, धुपीको धुप बालेर सिमे-भूमे, पित्-मात् र कुलदेवताको पूजा गरिन्छ । यसपछि आ-आफ्‌ना मान्यजनहरुलाई ढोगभेट गरी पुरुपहरुले बेसारमा मलेको नौसरा नौगाँठो पारिएको काँचो धागो र महिलाहरुले चाहीं बेसारमै मलेको सातसरा सातगाँठो पारिएको काँचो धागो (डोरो) लगाई दिएर नयाँ वर्षको अशिमला आशिमाला (शुभकामना। दिने र मिठा परिकार ख्वाएर, खाएर चाड मनाइन्छ ।

रोचक प्रचलनः तिहारमा खेलिएको देउसी भैलोबाट संकलित अन्न र पैसा अथवा यदि देउसी भैलो खेलिएको छैन भने चेलीबेटीहरुले आ-आफ्‌नो घरबाट चामल, रक्सी उठाउने र माइतीहरुले घ्यू, कुखुरा वा बोका ल्याउने अनि रोटी, रक्सी र मासुभात खाई ल्होछार मान्ने चलन छ। ल्होछारमा विशेषतः स्योंके (ल्होछारको प्रमुख परिकार युक्त भोज खाइन्छ। स्योंके बाहेक महत्वपूर्ण विधिहरुमा म्हिग्रेचोग (भलाद्मी। हरुको अगुवाई र चाँजोपाँजोमा दिनये ल्ल्ये पैंडिले शुभमुहुर्त विचार गरी धोएंदोये ल्ब्धे पुरोहितहरुले स्वस्ति शान्तिको विधि गर्दछन् ।

गुरुङ समुदायले परापुर्वकालदेखि मान्यता दिइल्याएका पज्यु, ल्ट्येवं र लम (लामा) यी तीन वर्गका खेगि । पुरोहित) हरुबाट, मान्यता अनुसारका विधि गराएर ल्होछारमा सबैले आ-आफ्‌नो ग्रह शान्ति र कुशल-मङ्गल प्राप्तिको लागि म्हार (घ्यू) को बत्ति बालेर क्युफुई (चोखोपानी), च्यु (अक्षता) र अन्य चोखो खानेकुराहरु चढाई स्युरी (धुपी) को धुप बालेर सिल्दों नाल्दों (सिमे-भूमे), खे (पित्), मा (मात्) र फैलु (कुलदेवता) को पुजाआजा गरिन्छ । त्यसपछि आफ्‌ना मान्यजनहरुलाई मान मनितो, ढोगभेट गरी आर्शिवाद ग्रहण गरिन्छ ।

ल्होछार, सामुहिक तथा सामाजिक रुपमा वृहत खुल्ला कार्यक्रम या मेला आयोजना गरेर पनि मनाइन्छ । यस मौकामा सबैसंग भेटघाट हुन्छ, संस्कृति प्रदर्शन गरिन्छ। परम्परागत भेषभूषामा उपस्थित भइ नाचगान गरिन्छ । कार्यक्रममा तमूहरु मात्र नभएर सबै समुदायका मानिसहरु भेला हुन्छन् । देशका ठूला पदाधिकारी, नेतागण, विद्वान, विज्ञहरुलाई समेत निम्त्याइन्छ । त्यसैले ल्होछार “साझा चाडको रुपमा विकसित हुँदै आएको पाइन्छ । जसलाई नयाँ मान्यता अनुसार समावेशी हुँदै आएको पनि भन्न सकिन्छ ।

आऔं हामी पनि तमु ल्होछार हर्षोल्लास पूर्वक मनाऔं र एकापसमा सद्भाव बढाऔं, अशिमला (शुभकामना) आदान प्रदान गरौं र राष्ट्र तथा विश्व शान्तिको कामना गरौं ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *