काठमाडौं। सरकारले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बाध्यकारी नियम लागू गर्ने भएको छ। यातायात व्यवस्था विभागले मंगलबार सूचना जारी गरेअनुसार सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयमा गई सवारी दर्ता, नामसारी र नवीकरण गर्ने बेलामा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने जानकारी दिएको हो।
गत साउन २० मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले सवारीधनीले अनिवार्यरूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको थियो।
‘सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यलयमा गई सवारी दर्ता, नामसारी र नवीकरण गर्ने बेला अनिवार्यरूपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्नुपर्नेछ,’ सूचनामा छ, ‘सबै सवारीधनीले यथाशीघ्र सम्बन्धित कार्यालयहरूबाट नम्बरप्लेट जडान गर्नुुहुन यसै सूचनामार्फत जानकारी गराइन्छ ।’ विभागका अनुसार सरकारले इम्बोस्ड नम्बरप्लेट जडानका लागि सवारीसाधनपिच्छे फरक–फरक मूल्य पनि तोकेको छ। मोटरसाइकल र स्कुटरका लागि २ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ। तीनपांग्रे सवारीका लागि २ हजार ९ सय रुपैयाँ, चारपांग्रेलाई ३ हजार २ सय रुपैयाँ र ठूला सवारीसाधनका लागि ३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
इम्बोस्ड नम्बरप्लेटमा लेखिएका अक्षर मेसिनबाटै छापिएर आउनेछ। इम्बोस्ड नम्बरप्लेट जडान गरिसकेपछि सवारीसाधन चोरीका घटना घट्दै जाने विभागको दाबी छ। कर तिर्न नमान्ने सवारीधनीलाई कर तिर्न सहजीकरणसमेत गर्ने विभागले जानकारी दिएको छ।