झापा। आफ्नै घरमा राखेको १६ वर्षीया नाबालिकालाई पटक पटक करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी अस्पताल भर्ना भएका छन्
करणीको आरोपमा पक्राउ परेका शिवाकोटीलाई स्वास्थ्य समस्याका कारण बीएण्डसी अस्पतालमा भर्ना गरिएको छ। पक्राउपछि भद्रपुरस्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा अस्वस्थ देखिएपछि उनलाई अस्पताल लगिएको झापा प्रहरीले जनाएको छ।
पीडित १४ वर्षीय नाबालिकाको तर्फबाट हिजो इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी दर्ता भएको थियो। डीएसपी प्रकाश विष्टका अनुसार शिवाकोटीलाई आज म्याद थपका लागि झापा जिल्ला अदालत लगिनेछ। साथै, पीडित बालिकाको स्वास्थ्य परीक्षणसमेत सम्पन्न भएको छ।
शिवाकोटीले करिब ८ वर्षअघि बिर्तामोड–५ स्थित आफ्नो घरमा घरेलु कामदारका रूपमा राखेकी नाबालिकालाई पटकपटक करणी गरेको खुलेको छ। बाबुको निधनपछि ती किशोरी बिर्तामोडस्थित एक आफन्तको घरमा बस्दै आएकी थिइन्। आफन्तकै रूपमा नाता पर्ने शिवाकोटीले किशोरीलाई आफ्नो घरमा ल्याएर पढाउने आश्वासन दिएका थिए।
यो घटना प्रकाशमा आएपछि पीडितको परिवार र स्थानीयवासीले न्यायका लागि आवाज उठाइरहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।